बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको शुक्रबार बिहान मृत्यु भएको छ। उपचारका क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको हो।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा उनको महानगर प्रहरीसँग भनाभन भएको थियो। भनाभनकै क्रममा उनको मोटरसाइकलमा लक लगाइयो। लक लागिसकेपछि माफी मागेपनि महानगर प्रहरीले उनको बाइकको लक खोलिदिएन। त्यसपछि उनले साथीको बाइक प्रयोग गर्ने उद्देश्यले पेट्रोल झिकेका थिए।
भनाभनकै क्रममा टेकुबाट घटनास्थलमा ड्युटीमा खटिएका प्रहरी हवल्दारले उनलाई दुई झापड हाने। प्रहरीले झापड हान्नेबित्तिकै नेपालीले पेट्रोल छर्केको राहदानी विभागमा पासपोर्टको कभर र फाइल बिक्री गर्ने प्रत्यक्षदर्शीहरूले बताएका छन्।
गणेशले पेट्रोल छर्केपछि जल्दै कराउँदै केहीबेर सडकमा हिँडे र ढले। तर घटनास्थलमा खटिएका महानगर र नेपाल प्रहरीले उनको आगो निभाउन कुनै प्रयास नगरेको दृश्यले आफूहरू मर्माहत बनेको उनीहरूले बताए। ‘कम्तीमा मानवता त हुन्छ, त्यो पनि देखिएन। रातभरि निदाउन सकेको छैन,’ एक महिलाले भनिन्, ‘मानिसहरू सबै भित्र लुके। चार–पाँच मिनेटसम्म जलिरहँदा पनि महानगर प्रहरीले बचाउन केही गरेनन्,’ एक प्रत्यक्षदर्शीले भने।
स्थानीय स्टेशनरी तथा साइबर पसलका व्यक्तिहरू आएर बोतलको पानी छर्कने, जारको पानी ल्याएर खन्याउने तथा घरको पर्दा निकालेर छोप्ने प्रयास गरेका थिए। राहदानी विभागभित्रबाट जारको पानी निकालेर पनि खन्याएका थिए। त्यसपछि राहदानी विभागमा सेवा लिन आएका मानिसहरूले गणेशलाई ट्याक्सीमा हालेर वीर अस्पताल पुर्याएको उनीहरूले जानकारी दिए।
घटनापछि स्थानीय व्यापारीहरू धेरैजसो घरबाहिर निस्केको र सत्य–तथ्य बोल्न नचाहेको उनीहरूले बताए। घटनास्थल नजिक धेरैवटा सीसीटीभी फुटेज रहेको र ती फुटेज सार्वजनिक गरिएमा यथार्थ बाहिर आउने उनीहरूको भनाइ छ।
शुक्रबार राहदानी विभागले राहदानी वितरण गर्ने मात्र काम गरिरहेको छ। त्यसकारण भीडभाड त्यति छैन। विभागबाहिर बाइकमै बसिरहेका पठाओ चालहरु पनि बोल्न चाहेनन्। स्थानीय पनि मिडियासँग बोल्न चाहेनन्। सधैं खटिने महानगर प्रहरी पनि विभागअघि पुगेको देखिएन।
प्रकाशित: २६ असार २०८३ १३:११ शुक्रबार





