१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

मेस्सी मेसिन हुन्, जबसम्म खेल्न चाहन्छन् उनी उत्कृष्ट नै रहनेछन् : स्कालोनी

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले ३९ वर्षको उमेरमा पनि कप्तान लियोनेल मेस्सीले देखाइरहेको उत्कृष्ट प्रदर्शन आफूका लागि कुनै आश्चर्यको विषय नभएको बताएका छन्।

उनले मेस्सीले खेलिरहने निर्णय गरेसम्म उनी विश्वकै उत्कृष्ट खेलाडीका रूपमा रहने विश्वास व्यक्त गरे।

जारी विश्वकपमा अर्जेन्टिनाको सफल यात्रामा मेस्सीको भूमिका निकै महत्वपूर्ण रहेको छ। उनले पाँच खेलमा आठ गोल गर्दै गोल्डेन बुटको दौडमा छन्। समान आठ गोल गरेका फ्रान्सका केलियन एम्बाप्पे गोल्डेन बुटको दौडमा पहिलो स्थानमा छन् भने उनी दोस्रो स्थानमा छन्।

राउन्ड अफ १६ मा इजिप्टविरुद्ध अर्जेन्टिनाले ३–२ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दा पनि मेस्सी चम्किएका थिए।  

उक्त खेलमा उनले एक गोल गरे भने क्रिस्टियन रोमेरोको गोलका लागि असिस्ट पनि दिएका थिए। यससँगै विश्वकपमा उनको व्यक्तिगत गोल संख्या २१ पुगेको छ, जुन प्रतियोगिताको इतिहासकै सर्वाधिक हो।

इन्टर मियामीका फरवार्ड मेस्सी मांसपेशीमा आएको सामान्य समस्याबाट निको भएर प्रतियोगितामा सहभागी भएका थिए। त्यसअघि उनको फिटनेसबारे केही प्रश्न उठेका थिए। तर स्कालोनीका अनुसार मेस्सीको तयारी र समर्पणले ती सबै शंका गलत सावित गरेको छ।

‘लियोले हरेक खेलमा लगभग उस्तै मात्रामा दौडिरहेका छन्। उनले आफ्नो फिटनेस प्रशिक्षकसँग निकै राम्रो तयारी गरेका छन् र त्यसको नतिजा अहिले देखिएको छ। तर तथ्यांकका हिसाबले उनी धेरै परिवर्तन भएका छन् भन्ने मलाई लाग्दैन,’ स्कालोनीले पत्रकार सम्मेलनमा भने।

उनले थपे, ‘स्पष्ट कुरा के हो भने उनले टोलीका लागि आफ्नो सबै शक्ति लगाइरहेका छन्। जब उनी पूर्ण रूपमा खेलमा समर्पित हुन्छन् र विपक्षीका लागि खतरा सिर्जना गर्न सक्छन्, तब उनी साँच्चै मेसिनजस्तै देखिन्छन्।’

विश्वकपमा मेस्सीले इजिप्ट र अस्ट्रियाविरुद्ध दुई पेनाल्टी गुमाएका थिए। त्यसका बाबजुद स्कालोनीले कप्तानबाट पेनाल्टी प्रहार गर्ने जिम्मेवारी हटाउने कुनै सोच नरहेको स्पष्ट पारे।

‘मेरो दिमागमा उनलाई अर्को पेनाल्टी नलिन भन्नेसम्मको कुरा पनि आएको छैन। उनले चाहेको निर्णय आफैं गर्न सक्छन्। टोलीमा अन्य खेलाडी पनि छन्, तर यदि लियोले लिन चाहन्छन् भने उनले नै लिनेछन्। मैदानमा उनले आफूलाई उचित लागेको निर्णय गर्न स्वतन्त्र छन्,’उनले भने।

स्कालोनीले मेस्सीको उमेरलाई लिएर आशंका गर्नेहरूले उनलाई वास्तवमै नबुझेको प्रतिक्रिया दिए।

‘मलाई यो प्रदर्शनले कुनै आश्चर्य लाग्दैन। सायद उनलाई नचिन्ने मानिसहरूले ३९ वर्षमा उनी यस्तो स्तरमा खेल्न सक्दैनन् भन्ने सोचेका होलान्। तर मैले धेरै पटक भनेको छु, जबसम्म उनी खेल्न चाहन्छन्, उनी उत्कृष्ट नै रहनेछन्।’

अब अर्जेन्टिनाले आइतबार हुने क्वाटरफाइनलमा स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। स्विट्जरल्याण्डले प्रि–क्वाटरफाइनलमा कोलम्बियालाई गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा हराउँदै ७२ वर्षपछि अन्तिम आठमा स्थान बनाएको थियो।

स्कालोनीले स्विट्जरल्याण्डलाई निकै बलियो टोलीको संज्ञा दिँदै कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर आँक्न नहुने बताए।

‘विश्वकपमा सजिलो प्रतिद्वन्द्वी भन्ने हुँदैन। स्विट्जरल्याण्ड उत्कृष्ट टोली हो। उनीहरू सधैं ठूला टोलीसँग प्रतिस्पर्धा गर्छन् र कडा चुनौती प्रस्तुत गर्छन्। उनीहरूसँग अनुभवी खेलाडी छन्, विश्वकपको अनुभव छ र शारीरिक रूपमा पनि निकै बलिया छन्’, उनले भने।

यदि अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई पराजित गर्न सफल भयो भने सेमिफाइनलमा उसले इङ्गल्याण्ड वा नर्वेमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २७ असार २०८३ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App