माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईले २०७३ जेठ ३० गते माओवादी र माओवाद दुबै छाडेर नयाँ शक्ति पार्टी, नेपाल गठन गरे। परम्परागत पार्टी र सोचबाट पार नलाग्ने निष्कर्ष निकालेका भट्टराई वैकल्पिक राजनीतिका प्रणेता त बने तर, त्यसबाट देखाउने गरी केही गर्न भने असफल रहे। नयाँ शक्ति गठन गरेपछि मुख्यत: मधेसकेन्द्रित दलहरूसँग सहकार्य गरेका भट्टराई अहिले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष छन्। तर, उनको पार्टी खिइँदै गएको छ। नयाँ शक्ति गठनताका सँगै रहेका धेरै नेताहरू अहिले माओवादीतिरै फर्किसकेका छन्।
१० वर्षे सशस्त्र माओवादी द्वन्द्वका शीर्षस्थमध्येका एक नेता भट्टराईको खोजी त्यसपछि पनि स्वाभाविक रूपमा पार्टी भई नै रह्यो। अहिले पनि बेला बेला खासगरी कार्यकर्ताको तहमा भट्टराईको खोजी भई नै रहन्छ। पछिल्लो पटक पनि यो क्रम दोहोरियो। केही माओवादी कार्यकर्ताले भट्टराईलाई विभिन्न सामाजिक सञ्जालमार्फत माओवादीमै फर्किनका लागि आह्वान गरे। तर, पुराना पार्टी र सोचबाट केही नहुने दृढ निष्कर्ष निकालेका उनलाई त्यस्तो आह्वान-आग्रहले कहाँ छुनू ?
तर, उनी जवाफ दिन भने बाध्य भए। भट्टराईले गत शुक्रबार मात्रै फेसबूकबाट आफूलाई पुन: माओवादी बोलाउने नेता-कार्यकर्ताहरूलाई जवाफ लेखेका छन्। पूर्वसहयोद्धाद्वय पुष्पकमल दाहाल र रामबहादुर थापासँगको एक तस्बिर साझेदारी गर्दै उनले बनिबनाउ नेता हुँदा मात्रै पार्टी बलियो नहुने मात्रै बताएनन्, माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा पनि सुझाए। उनले भनेका छन्, ‘माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन, पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार, दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ। त्यसका निम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले सिर्जनशील ढङ्गले सोच्न र पहल लिन जरूरी छ।’
भट्टराईले माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा सुझाएपछि कतिपयले ‘बाबुराम भट्टराईलाई पुन: माओवादी मोह जागेको’ रूपमा व्याख्या गरेका छन्। तर, त्यस्तो नभएको बताउँछन् नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्मा। ‘माओवादीभित्र पनि अब बाबुराम भट्टराई बिना पार्टी अगाडि बढ्दैन भन्नेहरू निस्किँदैछन्। यस्तो बेलामा उहाँ अब पुन: पार्टीमै फर्किनुपर्छ भन्ने आवाज उठ्न थालेको छ। तर, डा. साबले फर्किने कुरा गर्नुभएको होइन। जहाँसम्म माओवादी आन्दोलन पुनर्गठनको कुरा छ। त्यो माओवादीकै रूपमा होइन, आजको आवश्यकताअनुकूल नयाँ रूपमै पुनर्गठन गरौँ भन्नुभएको हो जस्तो लाग्छ,’ उनले भने। त्यसरी आन्दोलनको पुनर्गठन भए त्यो राम्रै हुने पनि शर्मा बताउँछन्।
भट्टराईसँग राजनीतिक सहकार्यसमेत गरेका राजनीतिक विश्लेषक केशव दाहालको भनाइमा भन्दा भने भट्टराई कहिलेकाहीँ परम्परागत राजनीतिक इतिहाससँग नै रमाउने गर्छन्। नयाँ हुन्छु भनेपछि हमेशा नयाँ बन्नकै लागि अगाडि बढ्नुपर्ने भए पनि त्यसमा उनले ‘ब्रेक’ लगाउने गरेको उनी बताउँछन्। ‘बाबुरामजीले परम्परागत राजनीतिक इतिहासको विगतको मुग्धतामा रमाउने होइन, राजनीतिक विकल्पको प्रयत्न गर्ने हो। नयाँ शक्तिको विकल्पको निर्माण गर्छु भन्ने हो भने इमान्दार बनेर पुरानो शब्दवाली, सङ्गठन, इतिहासलाई सम्मान गर्ने हो तर, त्यहीँ रमाउने होइन। उहाँ दुई पाइला अगाडि जाने अनि तीन पाइला पछाडि फर्किने जस्तो देखिनुहुन्छ। त्यसरी त एक एक पाइला गरेर पछाडि फर्किने मात्रै काम हुन्छ,’उनले भने।
पुरानै आन्दोलन, पार्टी, शैली र सोचको मोह लाग्छ भने नयाँ प्रयास सफल हुँदैन भन्नुपर्ने भनाइ दाहालको छ। ‘कि त उहाँले नयाँ प्रयास सफल हुँदैन भन्नुपर्यो। त्यसरी उमेरले पाका मान्छेहरूले गरेको नयाँ प्रयास सफल हुँदैन भन्ने पुष्टि हुन्छ फेरि। ६० पुगेको मान्छेले नयाँ बन्ने कोसिस गर्नुचाहिँ कठोर साधना हो। उहाँले गर्नुभएको गल्ती के हो भने बेला-बेला माओवादीको आत्ममुग्धतामा रमाउनुहुन्छ,’ उनले भने।
दाहालले अहिले माओवादी पुनर्गठनको नभइ माओवादी विघटनको आवश्यकता रहेको औँल्याए। ‘माओवादी विचारले हाम्रो समस्या समाधान गर्दैन, नेपाली समाजका सङ्कटहरू समाधान गर्ने सूत्र दिँदैन। न अर्थतन्त्रका यावत् समस्याहरूलाई परास्त गर्ने, रोजगारी सृजना गर्ने काम नै गर्छ। जुन चिजले आजको पुस्ता र समयलाई योगदान गर्देन, त्यहाँ किन गनथन गर्ने ?,’ उनले भने।
उनले भट्टराईसँग दुईवटा मन रहको पनि उनले बताए। ‘उहाँको दुईवटा मन छ। एउटा मनले तँ त वैकल्पिक राजनीतिको प्रणेता पो होस् त, अब नयाँ तरिकाले अगाडि बढ्नुपर्छ भन्छ। अर्को मनले यत्रो आन्दोलन गरेर आइस्, प्रधानमन्त्री भइस्, माओवादी आन्दोलनको समीक्षा गरेर तालमेल मिलाएर त्यहीँ रहने हो कि भन्छ,’ उनले भने।
यो पनि पढ्नुहोस्
दाहाल र थापासँगको तस्बिर साझेदारी गर्दै बाबुरामले देखाए माओवादी पुनर्गठनको रूपरेखाप्रकाशित: २९ असार २०८२ २१:४४ आइतबार





