४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

दाहाल र थापासँगको तस्बिर साझेदारी गर्दै बाबुरामले देखाए माओवादी पुनर्गठनको रूपरेखा

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनको पुनर्गठनको रूपरेखा सुझाएका छन्। पूर्वसहयोद्धाद्वय पुष्पकमल दाहाल र रामबहादुर थापासँगको तस्बिर साझेदारी गर्दै बाबुरामले माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा सुझाएका हुन्।

‘विगतका कम्युनिष्ट सत्ताहरू किन ढले ? संसदीय कम्युनिज्म किन लोप हुँदै गइरहेछ ? तिनको वस्तुनिष्ठ ढङ्गले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो। केही समयदेखि हामीले पैरवी गर्दै आएको नयाँ शक्ति अभियानको औचित्य र मर्म त्यही हो,’ उनले भनेका छन्।

अगाडि उनी भन्छन्- एक्काइसौं शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको विश्वका नयाँ अर्थ-राजनीतिक अन्तर-विरोधहरू र भर्खरै किनारा पुँजीवादको चरणमा प्रवेश गरेको र भूमण्डलीकृत पुँजीवादको साङ्ग्लोमा बाँधिदै गएको नेपालका समस्याहरू हल गर्न हिजोको माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन। पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार, दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ। त्यसका निम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले सिर्जनशील ढङ्गले सोच्न र पहल लिन जरूरी छ। 

बाबुरामले माओवादी आन्दोलन सफल भएको पनि बताएका छन्। तर, दाहालको ढुलमुले र मौकापरस्त नीतिका कारण पूर्ण रूपमा भने सफल नभएको टिप्पणी उनले गरेका छन्। ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति सन्तुलनको ठीक मूल्याङ्कन गरेर शान्ति प्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका क. प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौँ,’ उनले भनेका छन्।

उनले नेताहरू टुटे/फुटेकाले आन्दोलन कमजोर भयो भन्नु बालसुलभ बुझाइ र सोच भएको पनि बताएका छन्।

दशवर्षे सशस्त्र आन्दोलनको मुख्यमध्येका एक नेता बाबुरामले माओवादी शान्ति प्रक्रिया आएपछि नयाँ शक्ति गठन गरे। 'माओवादी मात्रै नभइ माओवादसमेत छाडेँ' भनेर नयाँ शक्ति गठन गरेका उनले बीचमा मुख्यगरी मधेसकेन्द्रित दलहरूसँग राजनीतिक सहकार्य गरे तर, उनले चाहेअनुरूप हुन सकेन। अहिले उनी आफैँले नेसपा नयाँ शक्तिको नेतृत्व गरिरहेका छन्। वैकल्पिक राजनीति नै आजको निकास आशयका अभिव्यक्ति दिने गरेका बाबुरामले आज माओवादी आन्दोलनको पुनर्गठनको रूपरेखा सुझाएका हुन्। यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: २७ असार २०८२ १६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App