नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा पार्टीका नयाँ र पुराना नेताहरूलाई समेटेको छ । सधैं एउटै व्यक्तिले समानुपातिकबाट अवसर पाएको भन्दै पार्टीभित्र र बाहिरबाट आलोचना भइरहेका बेला विगतमा पटकपटक सांसद् र मन्त्री बनेका अपवादबाहेक बन्दसूचीमा धेरै नयाँ र लामो समयदेखि सक्रिय नेता परेका छन् ।
कांग्रेसले सोमबार राति निर्वाचन आयोगमा समानुपातिकतर्फ ११० सहितको बन्दसूची बुझाएको हो । बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे, अर्जुननरसिंह केसी, भीमसेनदास प्रधान, रोमी गौचन थकाली, चन्द्रमोहन यादवसहित विगतमा अवसर पाएका केही नेताबाहेक धेरै नयाँ अनुहार छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाका ससुरासमेत रहेका केसी पञ्चायतकालदेखि पटकपटक अवसर पाउने नेता हुन् । प्रधान पनि यसअघि मन्त्रीसम्म भइसकेका छन् । पूर्वराष्ट्रपति रामवरण यादवका पुत्र चन्द्रमोहन यसअघि निर्वाचनमा पार्टीबाट उम्मेदवार बनिसकेका नेता हुन् । आङ्दम्बे पटकपटक उम्मेदवार बने पनि परिणाम पक्षमा पार्न असफल नेता हुन् ।
बन्दसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेलको नाम पनि छ । नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीकी पत्नी रिना उप्रेती पनि समानुपातिकतर्फ उम्मेदवार छन् । अघिल्लो चुनवामा विद्रोही उम्मेदवार बनेका महेन्द्र थिङ पनि समानुपातिक सूचीमा छन् । गणेशमान चक्रधर, उर्मिला थपलिया, सेतेमान तामाङ, उमा शिवाकोटी, सीतादेवी देवकोटा, उषा राउतलगायतको नाम पनि समानुपातिकमा छ ।





प्रकाशित: १५ पुस २०८२ १८:१५ मंगलबार





