जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले नेपाली राजनीतिमा जसपा नेपालले आफ्नो अग्रणी भूमिका निर्वाह गर्दै उत्तरदायी र विकासमुखी सोचको महत्त्व स्थापित गरेको बताएका छन्।
२७ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने पहिलो दल जसपा नेपाल भएको भन्दै यादवले यसलाई पार्टीको स्पष्ट उद्देश्य र योजनाहरू जनतासँग सिधा प्रस्तुत गर्ने अवसरको रूपमा लिएको बताएका छन्।
चुनावी अभियानमा सक्रिय अध्यक्ष यादवले भने, ‘घोषणापत्र केबल नीति र योजना मात्र नभई जनताको आवश्यक्ता र आकांक्षाप्रति पार्टीको जिम्मेवारी र प्रतिबद्धता पनि हो। जनतामाझ पार्टीका प्रतिबद्धता सार्वजनिक गर्ने कार्यले मतदाताबिच विश्वासको वातावरण सिर्जना गर्ने र अन्य दलहरूलाई पनि आफ्नो योजना स्पष्ट पार्न प्रेरित गर्छ।’
समाजका विभिन्न वर्गका समस्याहरू समाधान गर्ने पार्टीको नीति र संकल्प स्पष्ट हुने र राजनीतिक रूपमा यसले पारदर्शिता र जबाफदेहिताको उदाहरण प्रस्तुत गर्ने अध्यक्ष यादव बताउँछन्।
साथै सामाजिक दृष्टिले यस्तो कार्यले जनताको सहभागिता बढाउने र चुनावी बहसलाई नीतिगत बनाउने उनको भनाइ छ।
प्रकाशित: १६ माघ २०८२ १०:१० शुक्रबार





