२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

घोषित मितिमा निर्वाचन गराई युवाको हातमा सत्ता सुम्पन आतुर छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने दायित्व सरकारसँग रहेको बताएकी छन् ।  

ज्यापु संस्कृति विकास कोषको आयोजनामा बिहीबार (मंसिर १८) काठमाडौंमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयारीमा जुटेको बताइन ।  

'जेनजी' आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । 'जेनजी' आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती मागहरू पूरा गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिइन् ।

यस्तो छ प्रधानमन्त्री कार्कीको भनाइ :

भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट हामीले एउटा पाठ सिक्नुपरेको छ । मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आम जनतालाई रोजगारी, गास, बास, कपासको सुनिश्चितताको माग गरेको छ । ती मागहरूलाई पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ ।

यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा समेत गर्दछु ।

 

प्रकाशित: १८ मंसिर २०८२ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App