नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इतिहासमा पहिलो पटक कांग्रेसको नेतृत्व बिनै परिवर्तन भएको टिप्पणी गरेका छन्। शुक्रबार रौतहटमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री शर्माले जेन–जी आन्दोलनपछिको परिवर्तनले कांग्रेसलाई ठुलो सन्देश दिएको बताएका हुन्।
‘नेपाल देशमा विगतमा भएका प्रत्येक परिवर्तनको नेतृत्वमा काँग्रेस थियो,’ महामन्त्री शर्माले भने, ‘यस पटक इतिहासमै पहिलो पटक कांग्रेस बाहिरको नेतृत्वमा परिवर्तन भएको छ । जेन–जीको आन्दोलन पछिको परिवर्तनले अन्यलाई सँगै कांग्रेसलाई पनि सन्देश दिएको छ।’
कांग्रेसले व्यवस्था परिवर्तन गर्न पटक पटक संघर्ष गरे पनि आफूभित्र पनि परिवर्तन खोज्न नसकेको कुराको पाठ जेन–जी आन्दोलनले दिएको शर्माले बताए। ‘अब यो सन्देश आत्मसात् गरेर हामीले निधो गर्नुछ–हामी सच्चिने कि सक्किने ?,’ उनले भने।
सक्किन अस्वीकार गर्ने हो भने, सच्चिन तयार हुनुपर्ने महामन्त्री शर्माले बताए। उनले भने, ‘अब जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बदलिन्नन् तिनले बिदा लिन्छन्।’
प्रकाशित: १० आश्विन २०८२ १४:३२ शुक्रबार





