नेकपा एमालेले रुकुम पूर्वमा उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का उमेदवारलाई सघाउने भएको छ।
एमाले र प्रलोपाबिच आइतबार भएको तीन बुँदे सहमतिअनुसार एमालेले रुकुम पूर्वमा प्रलोपा उमेदवार सन्दीप पुनलाई सघाउने भएको हो। सन्दीप तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र संघर्ष(जनयुद्ध)का सहिद पुत्र हुन्। सन्दीप, द्वन्द्वकालीन माओवादी नेता सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का पुत्र हुन्। सुन्दर र बृक्षा दुवै जना सशस्त्र संघर्षकै क्रममा मारिएका थिए।
उही सहिद दम्पतीका सन्तान सन्दीप अहिले तत्कालीन माओवादीका सर्वोच्च कमान्डर प्रचण्डविरुद्ध चुनावमा उत्रिँदा एमालेले सघाउने निर्णय लिएको छ। तीन बुँदे सहमतिमा एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका तर्फबाट अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।
रुकुम पूर्व माओवादीको सशस्त्र संघर्षकालीन आधार क्षेत्र मानिन्छ। जहाँ २०६४ यता भएका सबै निर्वाचनमा माओवादी उम्मेदवार नै जित्दै आएका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट माओवादी उमेदवार पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत ल्याएर जितेका थिए। अहिले प्रचण्ड सुरक्षित स्थान खोज्दै त्यहाँ पुग्दा आफैले नेतृत्व गरेको संघर्षका सहिद पुत्र सन्दीप चुनौती दिन उत्रिएका छन्।
एमाले–प्रलोपाबिचको यो सम्झौताअनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाबाट उमेदवार रहेका जनार्दन शर्मालाई पनि भोट दिने भएको छ।
त्यसको बदलामा प्रलोपाले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाका सबै जिल्ला र हाल लुम्बिनी प्रदेशमा रहेका पुरानो राप्ती अञ्चलका जिल्लामा एमाले उमेदवारलाई भोट दिने भएको छ।

प्रकाशित: ११ माघ २०८२ १६:२२ आइतबार





