नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिसोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिन लागेको जनाएको छ।
एमाले राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिने सचिव महेश बस्नेतले जानकारी दिए। उनले माइतीघरमा सहभागिताका लागि कार्यकर्तालाई अपिलसमेत गरेका छन्।
उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ।
प्रकाशित: १६ चैत्र २०८२ १२:४४ सोमबार





