१६ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

एक महिना अघि हराएका यमराज मृत फेला

एक महिना सात दिन अघि सम्पर्कविहीन भएका एक व्यक्ति मृत फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार तेह्रथुमको म्याङलुङ घर भई ताप्लेजुङमा निर्माणाधीन अपर तमोर जलविद्युत योजनामा कार्यरत ४० वर्षीय यमराज लिम्बू मृत फेला परेका हुन्। 

उनी तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं १ गैरी गाउँ घर भई अपर तमोर जलविद्युत योजनामा कार्यरत थिए। लिम्बूको शव चैत १५ गते फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमस्थित मेथेन खोलामा भेटिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार यमराज फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकस्थितमा रहेको निर्माणाधीन अपर तमोर जलविद्युत योजना २०८२ साल फागुन ८ गते घर जान्छु भनी हिँडेका थिए। लामो समयसम्म परिवार र कार्यरत जलविद्युत योजनाको सम्पर्कमा नपुगे पछि उनी बेपत्ता भएको भनी २०८२ साल चैत १ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया सहितको खोजतलास निवेदन परेको थियो। 

निवेदन परेको समय देखि खोजतलास कार्य सुरु गरिएकोमा चैत १५ गते मेथेन खोलामा एक बेवारिसे शव फेला परेको जानकारी पछि प्रहरी निरीक्षकको नेतृत्वमा परिचालित टोलीले निवेदनमा प्राप्त हुलिया सहितका आधारमा उक्त शव यमराजको रहेको तथ्य पत्ता लगाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ चैत्र २०८२ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App