वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ।
पाचौँ दिन सोमबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ। रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा सोमबार अन्त्य हुने काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्यले बताए।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो। जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ। जात्राको चौथो दिन सोमबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीन पटक घुमाइएको थियो।
सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनःरथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौँथो दिन अन्त्य गरिन्छ। पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गर्ने परम्परा छ। यसपछि पाँच दिन लामो जात्रा समापन हुने विधि रही आएको छ। रासस
प्रकाशित: १६ चैत्र २०८२ १२:३२ सोमबार





