नेकपा एमालेका भर्खरै निर्वाचित उपमहासचिव लेखराज भट्टका भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। जेन–जी आन्दोलनका क्रममा एमाले छाडेर स्वतन्त्र भएको घोषणा गरेका गोकर्ण आइतबार रास्वपामा प्रवेश गरेका हुन्। केही दिनदेखि नै उनी रास्वपामा प्रवेश गर्ने चर्चा थियो।
गोकर्ण एमालेअघि तत्कालीन नेकपा माओवादीमा थिए। उति बेला लेखराज माओवादीको सुदूरपश्चिम क्षेत्रका सबैभन्दा ठुला नेता थिए। लेखराज माओवादीले गरेको सशस्त्र सङ्घर्षकालीन नेता हुन्। जो पुष्पकमल दाहाल ‘प्रचण्ड’का भित्रिया नै मानिन्थे।
२०७४ को वाम गठबन्धन र त्यसपछि बनेको नेकपा कालमा प्रचण्डले सुदूरपश्चिममा भीम रावललाई बढी महत्त्व दिएपछि लेखराज बिच्किएका थिए। त्यसपछि उनी केपी शर्मा ओलीसँग नजिकिए। एमाले–माओवादी पूर्ववत् अवस्थामा फर्किँदा उनी माओवादीतिर नगएर एमालेतर्फ लागे।
लेखराजसँगै भाइ गोकर्ण पनि एमालेमै बसेका थिए। एमालेमा आइसकेपछि गोकर्ण अवसर पाएकै नेतामा गनिने सुदूरपश्चिमका एमालेहरू बताउँछन्। गोकर्णलाई एमालेले कैलालीको गोदावरी नगरपालिकाको मेयरको टिकट नै दिएको थियो। जहाँ एमालेमा एक से एक पुराना नेता थिए।
तर, गोकर्ण चुनाव जित्न भने सकेनन्, उनी नेपाली कांग्रेस उम्मेदवार वीरेन्द्र भट्टसँग पराजित भएका थिए। त्यसपछि उनी एमालेमा असन्तुष्ट सुनिँदै आएका थिए।
यस पटक उनी एमाले छाडेर रास्वपामा प्रवेश गरेका छन्। आइतबार उनले फेसबुकमा आफ्नो रास्वपा सदस्यताको कार्ड नै सार्वजनिक गरेका छन्।
प्रकाशित: ६ पुस २०८२ १९:३६ आइतबार





