३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

झापा ३ मा ढुक्क एमाले : १२ वर्षपछि खोलो फर्काउने दाउमा हरिबहादुर

झापा क्षेत्र नं. ३ मा नेकपा एमाले र राप्रपाबीचको तालमेल नभएपछि यतिबेला दुवै दल आआफ्नो चुनावी अभियानमा लागेका छन्। सो क्षेत्रमा एमाले नेता तथा कार्यकर्ताको भावनाविपरीत केन्द्रबाट तालमेल हुँदै आएको थियो।

१२ वर्षपछि झापा ३ मा एमालेले आफ्नै उम्मेदवार पाएको छ। पार्टीमा अनुशासित र सालिन पहिचान बनाएका हरिबहादुर राजवंशीले उम्मेदवारी दर्तापछि शुभचिन्तकहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन्। ‘भूमिपुत्र’ नै उम्मेदवार पाएपछि झापा ३ का मतदाता उत्साहित भएको एमाले कार्यकर्ताको धारणा छ।

फागुन २१ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरू आन्तरिक भेटघाटलाई तीव्रता दिइरहेका छन्। यसैबीचमा मतदाताहरूले देखाएको सद्भावले राजवंशी निर्वाचनमा जीत निकाल्ने ठाउँमा पुगेका छन्। एमालेबाट उम्मेदवार बनेका राजवंशीले झापा ३ का मतदाता मत बदल्न आतुर रहेको बताउँछन्। सूर्यमा मतदान गर्न इच्छुक मतदाताहरूको भावना १२ वर्षपछि सम्बोधन भएको उनको भनाइ छ। '१२ वर्षमा खोला फर्किन्छ भन्थे,' राजवंशी भन्छन्, 'ठ्याक्कै त्यस्तै भएको छ। परिणामले पनि खोला फर्किएको प्रमाणित गर्नेछ।'

चुनावी अभियानमा सक्रिय राजवंशीले आम मतदाता आफ्नो उम्मेदवारीले खुसी भएको बताउँछन्। झापा–३ मा अघिल्लो पटकसम्म सूर्यमा मत खसाल्न पाएनौं भन्ने मतदाताहरूका लागि अवसर प्राप्त भएको छ। सो क्षेत्रमा एमालेले उम्मेदवार नपाए पार्टीमा ठुलो विद्रोहको तयारी भएको थियो।  

एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले आफ्नो पार्टी संगठन निर्माण गरेर अन्य पार्टीको उम्मेदवारलाई मत दिनु व्यावहारिक नभएको स्पष्ट पार्छन्। एमालेले बलियो संगठन बनाएपछि अरु पार्टीको उम्मेदवारलाई सहयोग गर्न आवश्यक नै छैन। उनी भन्छन्, 'झापा ३ बाहिरबाट हेरे जस्तो मात्र छैन। यो क्षेत्रमा एमालेको बलियो र सुदृढ संगठन रहेको छ। हामी हाम्रो उम्मेदवारलाई विजय गराउने छौं।' अध्यक्ष सापकोटाका अनुसार झापा ३ को मुख्य प्रतिष्पर्धी भने राप्रपा नै हो।

विकास ल्याउन जिताएर पठाएको मान्छेले ‘राजा’ ल्याऔं भनेपछि एमाले समर्थक मतदाता रुष्ट बन्दै आएका थिए। एमालेले भोट दिएपछि फर्केर नहेर्ने प्रवृतिले आफ्नो उम्मेदवार तयार गरेको एमाले नेताहरूको भनाइ छ। एक नेता भन्छन्, 'एमालेले जिताएर पठाएको मान्छेले बाँकी समय कुनै समन्वय र सहयोग गर्नुपर्छ कि पर्दैन?'

चुनाव जितेर जनताकै घर आँगनमा रहने राजवंशीको प्रतिबद्धता छ। उनले चुनाव जितेपछि क्षेत्रभन्दा बाहिर नबस्ने बताउँदै आएका छन्। 'आफ्नो प्रतिनिधिलाई भेट्न क्षेत्रका जनताले कुनै कष्ट गर्नुपर्दैन। यो पटक राप्रपासँग तालमेल छैन। झापा ३ को विकासका लागि मतदाताले एमालेको उम्मेदवार चाहेका थिए,' उनले भने, 'ढुक्क भएर सूर्यमा मत दिनुहोस्।'

एमालेको राष्ट्रवादी छविमाथि आम मतदाता समेत खुलेर प्रसंशा गरिरहेको बताउँदै राजवंशीले झापा ३ मा एमालेको विजयी सुनिश्चित भएको बताएका छन्।  

यसअघि सो क्षेत्रमा एमालेले राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनलाई सघाएको थियो। लिङ्देनले ४० हजार ६४८ मत ल्याएका थिए। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए। सिटौलालाई तत्कालीन सत्ता गठबन्धनका दलहरूको साथ थियो।

२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ पाएर सिटौलालाई हराएका थिए। लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो। २०७० सालमा कांग्रेस नेता सिटौलाले लिङ्देनलाई हराएका थिए।

पञ्चायत कालमा गोलधाप गाविसका वडाध्यक्ष बनेका लिङ्देन २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए। पटक–पटक झापा ३ मा लिङ्देन निर्वाचित भएपछि राप्रपाले पकडको क्षेत्रका रूपमा लिँदै आएको छ।

झापा ३ मा यसअघिको निर्वाचनमा एमालेले समानुपातिकमा १९४६० र राप्रपाले १९७४३ मत प्राप्त गरेको थियो। यस पटक भने एमालेले आफ्नै उम्मेदवार उठाएपछि झापा ३ मा मुख्य प्रतिस्पर्धा गणतन्त्र पक्षधर एमाले र राजतन्त्र पक्षधर राप्रपाबीच हुने देखिएको छ। मतदाताले कसलाई विश्वास गर्ने हुन् भन्ने फैसला अब फागुन २१ गते हुने मतदानले गर्नेछ।

प्रकाशित: १८ माघ २०८२ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App