२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘कुलमान र महाविरलाई मन्त्री बनाउन जेन-जीको प्रेसर थियो, हात जोडेर बसिदिनुस् भनें’

प्रधानमन्त्री सुशिला कार्कीले अन्तरिम सरकार गठनका क्रममा कुलमान घिसिङ र महाविर पुन लगायतलाई मन्त्री बनाउन जेन-जीहरुको ठूलो दबाब रहेको बताएकी छिन्।

सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफू कुनै राजनीतिक दलको नभएको र बाहिरबाट मन्त्री खोज्नुपर्ने अवस्थामा आन्दोलनकारी युवाहरूको दबाबका कारण उनीहरूलाई समेटिएको बताइन्।

‘जेन-जीको ठूलो प्रेसर थियो हामीलाई। उनीहरुले कुलमानलाई लिनै पर्छ, पुनलाई लिनै पर्छ भनेर प्रेसर दिए,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यतिबेला तत्-तत् व्यक्तित्वहरुले आउन मान्नुभएको थिएन। तर, जेनजीको प्रेसर थेग्न नसकेपछि मैले नै स्पेसिल्ली हात जोडेर जति दिन तपाईंहरु बस्ने हो बसिदिनुस् भनेर अनुरोध गरेकी हुँ।’

उनले कुलमान घिसिङ, महाविर पुन, बब्लु गुप्ता लगायतका व्यक्तिहरू मन्त्रीमण्डलमा आएको र पछि निर्वाचनमा जानका लागि बाहिरिएको स्पष्ट पारिन्।

उनीहरूले सरकार छोडेर राजनीतिमा लाग्दा ‘बेइमानी’ भयो भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्रीले त्यसको प्रतिवाद समेत गरिन्।

‘सरकारमै बसि-बसि चुनाव लडेको भए बेइमानी हुन्थ्यो। तर उहाँहरुलाई हामीले जुन दिन चुनावमा जान्छौँ, त्यो दिन राजीनामा गरेर जानुस् भनेका थियौँ,’ उनले भनिन्, ‘उहाँहरुको आफ्नै जीवन छ, उमेर छ। उहाँहरु गएर राजनीतिमा लाग्नुभयो, यसमा अन्यथा मान्नुपर्ने केही छैन।’

प्रधानमन्त्री कार्कीले महाविर पुन र कुलमान घिसिङ लगायतले मन्त्रालयमा दुई कप चिया मात्र खाएर सेवा गरेको र चुनावका लागि बाटो लागेको भन्दै उनीहरूको इमानदारिताको बचाउ गरिन्।

उनले भनिन्, ‘उहाँहरुले मन्त्रालयको दुई कप चिया खाएर काम गर्नुभयो, उहाँहरु जानुभयो, हामीले धन्यवाद भनेर पठाइदियौँ।’

प्रकाशित: १९ माघ २०८२ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App