१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २१:५ अपराह्न
राजनीति

शेखरको छलफलको विषय- अहिल्यै गठबन्धन 'ब्रेक' गर्दा के हुन्छ ?

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सत्तामा भए पनि सरकारमा नरहेको बताउँदै आएका छन्। कोइरालासँग यसको आफ्नै ‘लजिक’ छ। उनी भन्छन्— हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ। हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ। त्यसैले कहीँ यो सरकार गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ। हामीले खबरदारी गरेनौँ भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्न सक्छ। त्यसैले हामी सत्तामा छौँ तर, सरकारमा छैनौँ।

कोइरालाले अर्को चिन्ता पनि व्यक्त गर्दै नै आएका छन्। उनलाई डर छ कि एमालेसँगको सत्ता सहकार्यले कांग्रेस एमालेकरण भइरहेको छ। त्यसो त कोइराला जतिबेला कांग्रेस-एमालेबीच सत्ता सहकार्यको समझदारी बन्यो, त्यतिबेलै पनि खुसी थिएनन्। समझदारीअनुसार कांग्रेस-एमलाेको सरकार बनेयता नै कोइरालाले सरकारका प्रति आलोचनाका भाषाहरू बोल्दै आएका छन्।

तर, कांग्रेस-एमाले गठबन्धनको एक वर्षसम्म आइपुग्दा कोइराला गठबन्धन ‘ब्रेक’को मनस्थितिसम्म पुगेका छन्। पछिल्लो समय उनी पार्टीभित्रको आफ्नो समूहका नेताहरूसँग मात्रै होइन, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यति खुसी नरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग घण्टौँ गफिए। यी भेटवार्ताहरूमा कोइरालाले सरकारका प्रति आलोचना गर्दै गठबन्धन ‘ब्रेक’ गर्दा के हुन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् भनिन्छ। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा।

दाहाल र भण्डारीसँग कोइरालाले के कुरा गरे, त्यसको यथार्थता बाहिरिएन। तर, त्यसको केही दिनपछि आइतबार (हिजो) आफू पक्षीय सांसदहरूसँगको बैठकमा उनले अहिल्यै गठबन्धन ‘ब्रेक’ गर्दा के हुन्छ भन्नेबारे छलफल गरेका छन्। बैठकपछि सांसद सुनिल शर्माले भने, ‘गठबन्धन चाहिँ अहिले नै हामीले ब्रेक गर्दाखेरि भोलि के के परिस्थिति हुन सक्छन् ? भोलि अधिवेशन छ, चुनाव आउँदैछ भनेपछि यी सबै कुरालाई मध्यनजर गर्दैछौँ।’

सभापति शेरबहादुर देउवाले पार्टीलाई 'प्राईभेट कम्पनी' बनाएको आरोपित गर्दै शर्माले अब त्यसका प्रति ‘लोयल’ नहुने चेतावनी पनि दिए। प्रादेशिक सरकारहरूमा कोइराला पक्षका मान्छेहरू नभएको उल्लेख गर्दै उनले भने, ‘जस्तो प्रदेश १ मा आज कोइरालाको मान्छे भनेको एउटै पनि छैन। भनेपछि उहाँहरूले मुलुकैभरि यो पार्टीलाई करेक्सन गरेर सम्माजनक हिसाबले लान खोज्नुभयो भने अर्को परिस्थिति बन्छ। निहुँ खोजेर भिड्छु भन्नुभयो भने त हामी पनि मर्न तयार हो।’

अर्का सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय मुद्दाहरूमा कोइरालाको फरक मत रहेको औँल्याउँदै पार्टी फुटाउने वा प्रधानमन्त्री बन्ने तहमै भने नपुगेको प्रष्ट्याए। तर, यसैगरी चलिरहने हो भने फरक कदम चाल्नुपर्ने हुनसक्ने कोइरालाले सङ्केत गरिरहेको भनाइ बजगाईंको छ। ‘उहाँको पार्टी फुटाउने चाहना छैन, हर्कत पनि होइन। जति विषयहरू उठेका छन्, यीलगायतका राष्ट्रिय मुद्दाहरूमा फरक मत छ। यसैको विषयमा फरक पार्टीका नेताहरूसँग विचारहरू साटासाट गरेको हो भनेर भन्नुभयो। जसरी पार्टी फुटाउने, पीएम बन्ने चर्चा छ, त्यो चाहिँ होइन।’

त्यसो त कोइरालाले आफू पक्षीय मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे पनि छलफल थालेका छन्। सङ्घीय तथा प्रादेशिक सरकारहरूमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे पनि छलफल चलिरहेको एक नेताले पुष्टि गरे। ‘बोलाउने निर्णय भइसकेको होइन तर, त्यसरी पनि छलफल सुरु भएको छ,’ ती नेताले भने। मन्त्री फिर्ता बोलाएपछि भने गठबन्धन फुट्न सक्ने ती नेताको भनाइ छ तर, त्यो खाली छलफलको क्रममा रहेको उनले दोहोर्‍याए।

त्यसबारे परिस्थिति बुझ्नका लागि हुन सक्छ— कोइरालाले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यति खुसी नरहेकी विद्यादेवी भण्डारीसँग वान् अन वान् संवाद गरिसकेका छन्। कोइरालाको यो सक्रियताका प्रति संस्थापन पक्षले चासो देखाएको छ। आज मात्रै चाक्सीबारीमा जुटेका सात संस्थापन पक्षका नेताहरूले पनि यसबारे छलफल गरेका छन्। उनीहरूले यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्दैछन्। त्यसका लागि भोलि देउवासँग संवाद गर्ने चाक्सीबारी पुगेका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए।

कांग्रेसका सात नेताहरूको बैठक।

चाक्सीबारीको भेलामा गठबन्धन २०८४ सम्म नै जानुपर्ने निष्कर्षसमेत निकालिएको छ तर, त्यसका लागि सरकारको यो ‘स्पीड’ले नपुगेको निष्कर्ष पनि निकालिएको छ। यसबारे अब सभापति देउवालाई जानकारी दिने र त्यहीअनुसार सरकारका प्रति दबाब बढाउने देउवाका निकटस्थ सात नेताहरूको योजना छ। त्यसले स्वत: कोइरालाको असन्तुष्टलाई 'ट्याकल' गर्ने उनीहरूको बुझाइ छ।

तर, यता संस्थापनइतर पक्षका नेताहरू भने अब पनि यसैगरी नचल्ने बुझाइमा पुगिसकेका छन्। यसबीचमा कम्तीमा ६० प्रतिशत शक्ति आर्जन गरेको निष्कर्ष निकालेर बसेको संस्थापनइतर पक्षका नेताहरूले अब ‘वार कि पार’कै अवस्थामा जाने चेतावनी दिइरहेका छन्। १५औं महाधिवेशन नजिकिँदै गएको र देउवा सभापतिका उम्मेदवार बनाउन नमिल्ने अवस्थामा कोइरालाले सक्रियता बढाएर संस्थापन पक्षका कतिपय नेताहरूलाई तानिसकेको बताइन्छ।

अहिल्यै गठबन्धन 'ब्रेक'को छलफल र बहसले अरु केही सहयोग नगरे पनि पार्टीको मुख्य समर्थनमा ओली नेतृत्वको सरकारसँग असन्तुष्ट नेताहरू तान्न सकिने बुझाइमा कोइराला छन्। 'सरकारसँग धेरै साथीहरूको असन्तुष्टि छ। पार्टी नेतृत्वका प्रति पनि कतिपय साथीहरूले प्रश्न नै उठाइरहनुभएको छ,' संस्थापनइतर पक्षका एक नेताले भने, 'यस्तो अवस्थामा कतिपय नेताहरूले आफ्नो समूह चिन्नुपर्ने अवस्था पनि छ। यसले त्यो क्रममा पनि समर्थन गर्न सक्छ।' जसै बालकृष्ण खाणलगायतका नेताहरूले समूह परिवर्तन गरिसकेका छन्। पहिले संस्थापन पक्षका नेता खाण अहिले कोइरालाको गुटमा पुगेको कांग्रेस नेताहरू नै बताउँछन्।

यस्तो अवस्थामा कोइरालाले 'फाइदा नै नभए पनि घाटाचाहिँ हुँदैन' भन्ने बुझाइका साथ सक्रियता बढाएको ती नेताको भनाइ छ। तर, सरकार यसैगरी 'लाचारी' भयो र कांग्रेसले पनि त्यसमा थप खबरदारी गरेन भने यो सरकारको औचित्य सकिने ती नेता बताउँछन्। त्यसमा कोइरालाले थप सक्रियता बढाउने ती नेताको भनाइ छ।

प्रकाशित: ५ श्रावण २०८२ २१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App