कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २४ गतेको विध्वंसमा संलग्नहरूलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन्। उनले अहिले १२ जना सडकमा आउँदा १२ सय प्रहरी परिचालन गर्नुपर्ने अवस्था रहेको बताए।
‘भदौ २४ गतेको आगजनी र ध्वंसमा संलग्नलाई राज्यले नै संरक्षण गरिराखेको छ,’ वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भने, ‘यस्तो अवस्थामा विकास-निर्माण भन्दा व्यक्ति र संस्थाको सुरक्षाको चिन्ता मनमा उब्जिदो रहेछ।’
मुख्यमन्त्री कँडेलले अहिले देशमा संविधानले नचिन्ने तर मान्नैपर्ने सरकार रहेको बताए। ‘अहिले मुलुकको अवस्था बदलिएको छ, देशमा संविधानले नचिन्ने तर हामीले मान्नैपर्ने सरकार छ,’ उनले भने, ‘भयावहमा बद्लिएको देशको अवस्थाको प्रभाव अहिले परिरहेको छ।’
कँडेलले एकजना व्यक्ति जिल्लामा आउँदा हजारभन्दा बढी प्रहरी परिचालन गर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थामा चुनावको कुरा भइरहेको बताए। ‘१२ जना सडकमा विरोध गर्न आउँदा १२ सय जना प्रहरी परिचालन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा चुनावका कुरा गरिराखेका छौं।’
उनले कर्णाली बनाउने सामूहिक अभियानमा सबैको साथ र सहयोगको खाँचो रहेको बताए। ‘भूमिका फरक भए पनि कर्णाली बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भने, ‘सामूहिक प्रयासले मात्रै कर्णाली बनाउन सक्छौं।’
प्रकाशित: २४ मंसिर २०८२ ११:३५ बुधबार





