नागरिकता नपाएकै कारण बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित सरकारी टोलीले बुधबारदेखि स्थलगत काम थालेको छ।
गृह मन्त्रालयको छानबिन टोलीले घटनास्थलमै पुगेर पीडित परिवारको कानुनी समस्या हल गर्दै मृतकको मृत्यु दर्ता र बालिकाको जन्मदर्ता गराएको हो।
समितिका सदस्य एवं गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार टोलीले बर्दियाको बढैयाताल–४ स्थित घटनास्थल र वडा कार्यालय पुगेर घटनाको यथार्थ विवरण बुझेको छ।
सो क्रममा कागजी प्रक्रियाको अभाव नै मुख्य समस्या देखिएपछि तत्कालै दुईवटा महत्त्वपूर्ण दर्ता कार्य सम्पन्न गरिएको छ।
उपसचिव अर्यालले भने, ‘हामीले घटनास्थलमा पुगेर समग्र बस्तुस्थिति बुझ्दा मृतक अन्जुकी ७ वर्षीया छोरी अनिताको जन्मदर्ता र अन्जुको मृत्यु दर्ता नभएको पाइयो। यो समस्यालाई तत्काल निराकरण गर्न आजै वडा कार्यालयमा पुगेर मृतक अन्जुको मृत्यु दर्ता र बालिका अनिताको (बुबा अनिलको नामबाट) जन्मदर्ता सम्पन्न गरेका छौँ।’
समिति संयोजक एवं गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीको नेतृत्वमा पुगेको टोलीले स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग सर्वपक्षीय छलफल समेत गरेको थियो।
बाँकी समस्या र घटनाको विस्तृत कारणबारे अध्ययन गरी प्रतिवेदनमा खुलाइने सदस्य अर्यालले जानकारी दिए।
के थियो घटना ?
बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू र उनका बुबाले नागरिकताविहीनताका कारण सिर्जित पीडा र सरकारी सेवाबाट वञ्चित हुनुपरेको नैराश्यताका कारण ज्यान गुमाएका थिए।
पतिबाट उपेक्षित अञ्जुको पक्षमा अदालतले अंश पाउने फैसला गरे पनि नागरिकता नहुँदा उनले अंश दाबी गर्न सकेकी थिइनन्। यही प्रताडनाका बिच भएको घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएको छ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले गत मङ्सिर २१ गते सहसचिव सुरेश पन्थीको संयोजकत्वमा उपसचिव कुलशेखर अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ। घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पनि छुट्टै अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २४ मंसिर २०८२ १७:०९ बुधबार





