नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व, चरित्र र राष्ट्रनिर्माणप्रति गम्भीर छलफल उठाउँदै वर्तमान राजनीतिक अवस्थामाथि तीव्र टिप्पणी गरेका छन् ।
नेपालगन्जमा भएको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले जनतालाई नै सर्वोच्च निर्णायकको रूपमा चित्रित गर्दै, ‘जनता नै न्यायाधीश हुन्, अन्तिम निर्णयकर्तासमेत जनता नै हुन्,’ भन्ने अभिव्यक्ति दिए ।
नेतृत्वको मूल्यांकन केवल उमेर, समय वा नयाँ–पुरानाको विषय नभई चरित्र, विचार, व्यवहार र कठिन संघर्षको भट्टीमा खारिएर निर्धारित हुने माधव नेपालको तर्क छ ।
उनले नयाँ पार्टी बनाउने वा नयाँ नेतृत्व ल्याउने चर्चा भइरहे पनि केवल ‘नयाँ’ भनी दाबी मात्रैले उपयोगी नेतृत्व नबन्ने र ‘सुन पनि आगोमा खारिएर मात्र चिनिन्छ’ भन्दै नेतृत्वसमेत संघर्ष, ज्ञान र तपस्याबाट परीक्षित हुनुपर्ने बताए ।
राज्य सञ्चालन र राष्ट्र निर्माणमा नेताकर्ताहरूले स्पष्ट दृष्टिकोण, योजनाको नक्सा र देशप्रति हुटहुटी राख्नै पर्ने उनले बताए । अपराध, बदमाशी र कमजोरीप्रति कुनै पनि प्रकारको छुट दिन नहुनेमा जोड दिँदै उनले ‘अपराधीलाई दण्डित गर्न ढिलाइ हुनु हुँदैन’ भन्ने धारणा राखे । उनका अनुसार जनताको पीडा सुन्ने, समस्याको समाधानतर्फ लाग्ने र लगानीकर्तालाई विश्वास दिलाउन सक्षम नीति निर्माण गर्नु अहिलेको मुख्य दायित्व हो ।
सम्बोधनको क्रममा उनले जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतदेखि सिंहदरबारसम्मका राज्य संरचनाहरूमाथि आक्रमण गर्नु जनताका नाममा गरिने गलत प्रवृत्ति भएको बताए । सरकारकै घमण्ड, असंवेदनशीलता र सीमाना नबुझेको व्यवहारका कारण त्यस्ता चरम घटना निम्तिएको उनको आरोप थियो ।
नेतृत्व, उत्तरदायित्व र राष्ट्रप्रतिको समर्पणलाई केन्द्रमा राखेर दिएको उनको वक्तव्यले वर्तमान राजनीतिक अशान्ति, दलभित्रको असन्तुष्टि र जनआक्रोशबीच एक वैकल्पिक संवादको संकेत दिएको देखिन्छ ।
प्रकाशित: २५ मंसिर २०८२ १७:२६ बिहीबार





