३ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल पार्टनरले राजीनामा दिनु पर्दैन: यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई छुट रहेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भूमि मन्त्री बलराम अधिकारीको राजीनामालाई लिएर सो कुरा बताएका हुन्।

उनले लेखेका छन्, 'ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ ।'

उनले सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्तालाई भने मधेस मूलका भएकै कारण राजीनामा दिन बाध्य पारेको बताएका छन्।

'सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेस मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो । बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे', उनले लेखेका छन्,'भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ ।'

अधिकारीको ठाउँमा कुनै मधेसी,थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए प्रधानमन्त्रीले नछोड्ने पनि उनले बताएका छन्। उनले लेखेका छन्, बलराम अधिकारीको ठाउँमा कुनै मधेसी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन्।

प्रकाशित: १ श्रावण २०८२ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App