सशस्त्र प्रहरीमा राष्ट्र संघीय शान्ति मिसनका लागि तोकिएको भीआइपी कोटा खारेज भएको छ। प्रहरी महानिरीक्षक राजु अर्यालले सो कोटामा उद्धार र खेलकुदमा राम्रो कार्य गर्ने मिसनमा पठाउने भएका छन्।
उत्कृष्ट कार्यलाई भिआइपी कोटा भन्दै दबाब दिने परिपाटीको अन्त्य भइ उद्धार र खेलकुदमा राम्रो कार्य गर्ने ५ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई यू.एन. मिसनमा सिधै सहभागी हुने अवसर दिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिई उद्धार गर्ने सशस्त्र प्रहरी कर्मचारी, २०८१ सालमा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत सो अवसर दिइएको उनले बताए।
सहभागी हुनेहरूमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न भागमा १९ पटकसम्म खटिई १० जनाको सकुशल उद्धार गर्नुका साथै ११ वटा शव निकालेका थिए भने २ जना पर्यटकको समेत जीवितै उद्धार गर्न सफल भएका थिए। यसैगरी, सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्लेले गत चैत १३ गते सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जनामध्ये ५ जनाको रोप रेस्क्यु विधिद्वारा सकुशल उद्धार गर्नुका साथै विभिन्न घटनामा २० पटक खटिई १५ जनाको शव निकालेका थिए।
त्यसैगरी सशस्त्र प्रहरी सहायक हवल्दार मेखबहादुर गुरुङ्गले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिमहरूमा उत्कृष्ट प्रशिक्षकको रूपमा समेत निरन्तर खटिँदै आएको तथा विभिन्न घटना तथा दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुको साथै विदेशी नागरिकको उद्धारमा समेत खटिएका थिए। आपत् विपतमा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारमा उत्कृष्ट कार्य गर्न सफल भई सशस्त्र प्रहरी सहायक हवल्दार किरणबहादुर भण्डारी गत वर्षको उत्कृष्ट ‘वर्ष जवान–२०८१’ घोषित भएका थिए। उनलाई पनि संगठनको नीति अनुसार मिसनको अवसर दिइएको हो।
त्यसैगरी सशस्त्र प्रहरी परिचर पुरन राईले नेपाल एपीएफ क्लवका आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङ्ग विधामा उत्कृष्ट खेल प्रदर्शन गरी ८ स्वर्ण, ३ रजत र १ कास्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए। उनलाई पनि मिसनको अवसर प्रदान गरिएको हो।
विगत लामो समयदेखि सशस्त्र प्रहरी बल नेपालको सुरक्षा फौज संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफ.पी.यू.)मा तैनाथ हुँदै आएको छ।
सशस्त्र प्रहरी बल, नेपालमा उत्कृष्ट कार्य गर्ने कोटामा भिआइपी कोटा भनी पहुँचका आधारमा मिसन जाने परिपाटीको अन्त्य भई यस पटक उत्कृष्ट कार्य गरेका सशस्त्र प्रहरी कर्मचारीहरू मध्यमा विपद् उद्धार र खेलकुदतर्फ उत्कृष्ट प्रदर्शन गरेकाहरू छनौटमा परेका छन्। यस प्रकारको उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू यु.एन. शान्ति मिसनका लागि छनौट भएपछि सशस्त्र प्रहरी कर्मचारीहरूमा थप हौसला अभिवृद्धि भएको छ।
प्रकाशित: ३ पुस २०८२ ०९:०१ बिहीबार





