प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सकिँदै जाँदा मोरङका राजनीतिक दल र उम्मेदवारहरू चुनाव प्रचारको अन्तिम कसरतमा जुटेका छन्। चुनाव प्रचारका लागि चुनावी सभा, माइकिङ र र्यालीहरू जताततै देखिएको छ।
निर्वाचनका लागि मौन अवधि सुरु हुनै लाग्दा दल बदल्नेहरूको लर्को पनि लागेको छ। चुनावको मुखमा आफ्नो पार्टी छाडेर अन्य पार्टीका उम्मेदवारहरूलाई सघाउनेहरू विभिन्न दल छाडेर अन्य दलमा आबद्ध हुने क्रम जारी छ। कतिपय उम्मेदवारले नै उम्मेदवारी निष्क्रिय पारेर प्रतिस्पर्धी उम्मेदवारलाई समर्थन गरिरहेका छन्।
मोरङ क्षेत्र नं ६ का उज्यालो नेपाल पार्टीका उम्मेदवारले एमालेका उम्मेदवारलाई समर्थन गरेको घोषणा गरेका छन्। यस्तै मोरङ क्षेत्र नं ५ का स्वतन्त्र उम्मेदवार नरेश लाभले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै रास्वपाकी उम्मेदवार आशा झालाई समर्थन गरेका छन्। यस्तै मोरङ क्षेत्र नं ४ मा पनि एमालेका उम्मेदवार जीवन घिमिरेलाई दुई जना उम्मेदवारले समर्थन गरेका छन्। स्वतन्त्र उम्मेदवार विनोदकुमार कार्कीले आफ्नो उम्मेदवार निष्क्रिय पार्दै एमाले उम्मेदवार घिमिरेलाई समर्थन गरेका हुन्।
यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार विनोद परियारले पनि समर्थन गर्दै एमालेको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन्। यस्तै मोरङ क्षेत्र नं २ मा रास्वपा छाडेर रास्वपा नेता तथा अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार ठगेन्द्र न्यौपानेलगायतका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
यस्तै नेपाली कांग्रेस रंगेलीका सचिव विनोद मण्डलगायताका नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका छन्। यस्तै विराटनगर–६ का पूर्व वडाध्यक्ष विजय कामत लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरू अन्य पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीहरूले नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का उम्मेदवार डा शेखर कोइरालालाई सघाउने जनाएका छन्। विराटनगर –१२ का ऊर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एसका नेता भिमबहादुर केसीलगायतका नेताहरू पनि कांग्रेसमा प्रवेश गरेर डा शेखर कोइरालाको निर्वाचन प्रचार अभियानमा सरिक भएका छन्।
प्रकाशित: १८ फाल्गुन २०८२ १४:२० सोमबार





