नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा सात प्रदेशको व्यवस्था मात्रै नगरेर स्वायत्त तथा विशेष क्षेत्रको व्यवस्था गरिएको बताएका छन्। शुक्रबार मगर समुदायसँग आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मगर–खाम स्वायत्त क्षेत्र बनाउन सकिने पनि बताएका हुन्।
‘तपाईँहरूलाई थाहा छ, हामीले संविधान बनाउँदा धेरै ठुलो छलफल र बहस गरेपछि खालि सात वटा प्रदेश बनाउने निर्णय मात्रै भएको छैन संविधानमा,’ प्रचण्डले भने, ‘संविधानमा विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र बनाउने कुरा पनि लिपिबद्ध गरिएको छ।’
त्यो आफ्नै मेहनत र पहलमा भएको संयोजक प्रचण्डले बताए। ‘तर, दुर्भाग्य। त्यसअनुसारको कानुन नबनेको हुनाले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र बनेर त्यहाँको जनताले जुन सुविधा पाउनुपर्ने हो पाएको स्थिति छैन,’ उनले भने।
संविधान व्यवस्था भएका कुरा कानुनमा व्यवस्था गरिए खाम–मगर सभ्यताका आधारमा स्वायत्त क्षेत्र बनाउन सम्भव रहेको प्रचण्डले बताए। उनले भने,‘संविधान कार्यान्वयन हुन बाँकी रहेको चिजलाई कार्यान्वयन गर्न सकिन्छ । र, त्यसले खाम–मगरको अधिकार र पहिचानलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ।’
प्रकाशित: १६ माघ २०८२ १५:४७ शुक्रबार





