नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेष महाधिवेशनको तयारीका लागि देशभरबाट नेता-कार्यकर्ता काठमाडौं जम्मा भएसँगै पार्टी फुटको सङ्घारमा पुगेको आशङ्का भइरहेका बेला नेता भण्डारीले यस्तो स्पष्टीकरण दिएका हुन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले पार्टीभित्रको विवादलाई लिएर कार्यकर्ता र शुभचिन्तकहरूमा विभाजनको त्रास देखिनु स्वाभाविक भए पनि नेतृत्वले पार्टी फुट्न नदिने दाबी गरे।
उनले भने, ‘यतिबेला कांग्रेस फुट्छ कि भन्ने शंका छ। विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने धेरैलाई लागेको हुन सक्छ। तर, हामी पार्टी विभाजन हुन दिँदैनौँ।’
नेता भण्डारीले इतिहासले कांग्रेसलाई दिएको जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याए। ‘इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानु हाम्रो कर्तव्य हो,’ उनले भने।
प्रकाशित: २६ पुस २०८२ १२:४८ शनिबार





