१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छ : महासचिव प‍ोखरेल

तस्बिर : महासचिवको सचिवालय

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन् ।

पार्टी केन्द्रीय विभागहरूको भेलालाई आइतबार पार्टी मुख्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद  विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको दाबी गरे ।  

विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको उनको दाबी थियो ।  

२०७८ मङ्सिर १० गते सौराहामा भएको केन्द्रीय कमिटी बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही  प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको थियो ।  

‘२०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति बनाउने र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियो’ पोखरेलले भने, ‘पार्टीमा देखिएको तत्कालीन संकटलाई व्यवस्थापन गर्न ३०१ सदस्यीय केन्द्रीय कमिटी  र १९ पदाधिकारी बनाइएको हो ।

विधानको दोस्रो संशोधनका रुपमा केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई बढाएर २५ सदस्यीय बनाइएको बताउँदै उनले विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकोमा त्यसलाई सच्याइएको दाबी गरे । महासचिव पोखरेलले भने, ‘हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो ।’

विधानको यसै प्रावधानलाई टेकेर पुष्प कँडेल तेस्रोपटक लेखा आयोगको अध्यक्ष चयन भएको  बताउँदै महासचिव पोखरेलले २०८० बैशाख ९ गते मुकुन्द नेउपानेलाई पार्टी प्रवेश गराउदा ७० बर्षे कार्यकाल हटाइएको जानकारी दिए । 

प्रकाशित: २९ असार २०८२ १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App