खानेपानीमन्त्री प्रदीप यादवले भौगोलिक कठिनाइ र सीमित स्रोतका बाबजुद पाल्पाको तानसेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय रहेको बताएका छन्।
उनले तानसेन खानेपानी उपभोक्ता समितिको सक्रियता देशका अन्य क्षेत्रका लागि पनि प्रेरणादायी भएको उल्लेख गरे।
शुक्रबार तानसेन खानेपानी उपभोक्ता समितिको १०औँ साधारणसभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले ‘पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार’ भन्ने नारालाई व्यवहारमा उतार्न स्थानीय नागरिकको भूमिका महत्त्वपूर्ण रहेको बताए।
‘तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय छ। भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि सरकार खानेपानीका समस्या समाधानका लागि पूर्ण प्रतिबद्ध छ,’ उनले भने।
मन्त्री यादवले तानसेन–कालीगण्डकी बृहत पम्पिङ खानेपानी आयोजनाको सफल कार्यान्वयनले सरकारको ‘सबै नागरिकका लागि स्वच्छ पानी’ भन्ने संकल्पलाई व्यवहारमा उतारेकोमा खुशी व्यक्त गरे। उनले चालु आर्थिक वर्षमा पनि यस क्षेत्रका योजनाहरूका लागि मन्त्रालयले बजेट विनियोजन गरेको जानकारी दिए।
कार्यक्रममा मन्त्री यादवले खानेपानी आयोजनाहरूमा उपभोक्ताको आर्थिक बोझ घटाउन सरकारले काम गरिरहेको बताए। उनले सहलगानीका योजनामा ३० प्रतिशत रहेको जनसहभागितालाई १५ प्रतिशतमा झारिसकिएको र अब यसलाई पूर्ण रूपमा हटाएर शून्य प्रतिशत बनाउने दिशामा मन्त्रालय सक्रिय रूपमा लागिपरेको दाबी गरे।
उनले पानीका मुहान संरक्षण, पाइपलाइन विस्तार र स्रोतहरूको समुचित उपयोगका लागि स्थानीय उपभोक्ता समितिहरूसँग निरन्तर सहयोग र समन्वय गर्न आग्रह गरे।
मन्त्रालयले हालसम्म ३१० भन्दा बढी स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी ‘वास योजना’ तयार गरिसकेको उनले जानकारी दिए।
प्रकाशित: १० श्रावण २०८२ १६:१५ शनिबार





