२६ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

विद्यार्थीको रुचिअनुसार पठनपाठन हुनुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ रुपन्देहीस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्।

मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए।

मुख्यमन्त्री आचार्यले राज्यले फरक क्षमता भएका नागरिकका लागि अवसर सृजना गरिरहेको बताए। त्यस्ता विद्यार्थीहरूको पठनपाठन र सीप विकासका विषयमा नजिकबाट बुझ्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

विसं २०३२ देखि सुनाइसम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको सो विद्यालयले विशेष शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।  

विद्यालयले नेपालसँगै छिमेकी मुलुक भारतका विद्यार्थीलाई समेत समेट्दै समावेशी शिक्षा प्रदान गर्दै आएको छ। आवासीय सुविधा, पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको अध्ययन तथा सीपमूलक तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरेको विद्यालयले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०८३ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App