१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई ‘झोले’ भनेर ‘ट्रोल’ बनाइएकोमा तरुण दलको आपत्ति

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई ‘झोले’ भनेर सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाइएको प्रति आपत्ति जनाएका छन्।

उनले यस्ता गतिविधि नियोजित र संगठित रूपमा भइरहेको भन्दै तरुण दलले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।

तरुण दलको ७३ औं स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले कांग्रेस कार्यकर्ता र उनीहरूका परिवारलाई समेत लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक सामग्री फैलाउने काम भइरहेको बताए।

‘नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा चित्रण गर्ने, हाम्रा परिवारहरूलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ,‘ अध्यक्ष गुरुङले भने, ‘कार्यकर्ताको मनोबल गिराउने यस्ता नियोजित आक्रमण अब हामीलाई स्वीकार्य छैन।’

उनले यस्ता अराजक गतिविधिविरुद्ध तरुण दल चुप लागेर नबस्ने स्पष्ट पारे। कार्यकर्ताको सम्मानको रक्षाका लागि आफ्नो संगठन जुनसुकै कदम चाल्न तयार रहेको बताउँदै उनले सम्पूर्ण तरुणहरूलाई संगठित हुन र प्रतिवादका लागि तयार रहन निर्देशन दिए।

साथै, पछिल्लो समय विभिन्न व्यक्ति तथा समूहले घोषणा गरेका आन्दोलनप्रति लक्षित गर्दै उनले त्यस्ता प्रवृत्तिविरुद्ध पनि तरुण दलले प्रतिवाद गर्ने संकेत गरे।

‘आज कुनै एउटा दुर्गा प्रसाईंले छठपछि आन्दोलनको घोषणा गरेको छ, कुनै एउटा अभियन्ता ग्रुपले १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ,’ गुरुङले प्रश्न गरे, ‘के पुराना दलको सरकार गइसकेपछि यो घटनाबाट नयाँ परिवर्तन भएको छ ?’

उनले चुप लागेर बस्दा देशमा शान्ति स्थापना नहुने भन्दै अब सडकमा भिड्नुको विकल्प नभएको बताए। 

चुप लागेर बसेर मात्रै यो मुलुकमा शान्ति हुँदो रहेनछ,’ अध्यक्ष गुरुङले भने, ‘यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईं हाम्रो अस्तित्व जोगाउने हो भने, अब यिनीहरुको विरुद्धमा सडकमा भिड्ने नै हो। योभन्दा अर्को विकल्प छैन।’

प्रकाशित: १० कार्तिक २०८२ १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App