२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रवि, बालेन प्रति लक्षित गर्दै ओलीले भने- यिनिहरु भद्रगोल सिर्जना गर्न चाहने शक्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति दुई विपरित ध्रुवमा तीव्र रूपमा ध्रुवीकृत भइरहेको बताएका छन्।

शनिबार ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको राजनीति विचार र मुद्दामा भन्दा पनि विध्वंस र निर्माणको कित्तामा बाँडिएको बताएका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एकातिर लोकतन्त्र र संविधानको रक्षा गर्ने शक्ति र अर्कोतिर भद्रगोल सिर्जना गर्न चाहने शक्तिहरूबीच ध्रुवीकरण बढेको दाबी गरे।

‘अहिले एकातिर पुराना दल र अर्कोतिर नयाँ दल भनेर चर्चा गरिए पनि वास्तविकता त्यस्तो होइन,’ ओलीले भने, ‘अहिलेको लडाइँ राजनीतिक दर्शनमा होइन, मुलुकलाई अस्थिरता र विध्वंसतर्फ लैजाने कि लोकतन्त्रलाई सुदृढ गर्दै अघि बढ्ने भन्नेमा केन्द्रित छ।’

उनले एमालेलाई घेराबन्दीमा पार्न खोजिए पनि राष्ट्रिय हित र लोकतन्त्रको रक्षाका लागि आफ्नो पार्टी चट्टानझैँ उभिएको जिकिर गरे।

अध्यक्ष ओलीले पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै पपुलिजमले देशलाई निकास नदिने टिप्पणी गरे। उनले कुनै जादुगर वा अवतारी नायक आएर समस्याको समाधान गरिदिन्छन् भन्ने भ्रममा नपर्न आग्रह गरे।

‘न त विध्वंस आन्दोलन हो, न पपुलिजम नै अग्रगमन हो,’ ओलीले भने, ‘पपुलिजमले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै अन्ततः समाजमा निराशा र अराजकता सिर्जना गर्छ।’

उनले सामाजिक सञ्जाल र भीडको भावनामा बगेर गरिने राजनीतिले देशलाई दुर्घटनामा लैजाने चेतावनी दिए।

प्रकाशित: २६ पुस २०८२ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App