भक्तपुर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)का अध्यक्ष पुकार पराजुलीले नेताहरूलाई सही र तार्किक कुरा गर्न सुझाउँदै जथाभावी बोले विद्यार्थीले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको भाषणप्रति आपत्ति जनाउँदै उनले पार्टी कमजोर भयो भनेर जथाभावी नबोल्न पनि सुझाए ।
भक्तपुर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले क्याम्पसको जग्गा भक्तपुर नगरपालिकलाई दिएको भन्दै क्याम्पसको रक्षार्थ आन्दोलन गरिरहेको छ ।
स्ववियूका सभापति पराजुलीले खुल्ला पत्रमार्फत नेपाल मजदुर किसान पार्टी नगरमै सीमित भई सङ्कुचित भएको बेला, एउटै क्याम्पस समेत बचाउन नसक्नुको कुण्ठा भएको आरोप लगाए ।
‘हालै तपाईंले सार्वजनिक रूपमा दिएको भाषणमा भक्तपुर क्याम्पसको जग्गा र पर्खालको संरक्षणका लागि गरिएको आन्दोलनलाई १० लाख लिएको भनेर आरोप लगाउनुभयो, ’अध्यक्ष पराजुलीले लेखेका छन, ‘विनाशकाले विपरित बुद्धि भन्ने जनउक्ति आज सान्दर्भिक देखिन्छ । आफ्नो पार्टी नगरमै सीमित भई सङ्कुचित भएको बेला, एउटै क्याम्पस समेत बचाउन नसक्नुको कुण्ठा यस्तो गलत आरोपमा परिणत भएको प्रष्ट देखिन्छ ।’
अध्यक्ष बिजुक्छेको भाषणमा ‘हेजु काण्ड’ र चेतावनीप्रति कटाक्ष गर्दै उनले भक्तपुर क्याम्पस कुनै गोरखा दक्षिणबाहुबाट उपहारस्वरूप पाएको सम्पत्ति नभई जनताको श्रम, बुद्धिजीवीको योगदान र विद्यार्थीको संघर्षबाट बनेको साझा सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
पराजुलीले विद्यार्थीहरू चेतनशील रहेको भन्दै पार्टी वा संगठनका नेताले झुट र आरोपको राजनीति गरे त्यसको प्रतिवाद गर्न सधैँ तयार हुने समेत बताए ।
प्रकाशित: १४ भाद्र २०८२ १८:१२ शनिबार




-600x400.jpg)
