भारत सरकारद्वारा अगाडि बढाइएको सप्तकोशी उच्चबाँध परियोजना खारेज गर्न माग गर्दै देशभक्त समाजवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्मरणपत्र पठाएको छ।
मोर्चाका अध्यक्ष गोपाल किराती र महासचिव पदम अधिकारीद्वारा हस्ताक्षरित स्मरणपत्र गत बिहीबार नेपालस्थित भारतीय दूतावासमार्फत प्रधानमन्त्री मोदीलाई पठाइएको हो। स्मरणत्रमा प्राकृतिक कारणले पहिल्यैदेखि संवेदनशील सप्तकोशी क्षेत्रको भूगोलमा यस्तो बाँध निर्माण गर्नु पूर्वी नेपालको जनजीवन र वातावरणका लागि विनाशकारी हुने उल्लेख छ।
मोर्चाले यो परियोजना खारेज नगरेमा खोटाङ, भोजपुर, उदयपुर, धनकुटा, सुनसरी, झापा, मोरङलगायत जिल्लाका हजारौं नागरिकको जीवन सङ्कटमा पर्ने जानकारी गराएको छ। साथै, परियोजनाले स्थानीय खेतीयोग्य जमिन डुबाउने, बस्ती विस्थापन गराउने र नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्धमा समेत खलल पुग्ने उल्लेख गरिएको छ।
स्मरणपत्रमा भारत सरकारको यस्तो परियोजना 'नेपालमाथिको वर्चस्ववादी मानसिकता' को प्रतीक भएको टिप्पणी गरिएको छ। मोर्चाले दुबै देशको प्राथमिक नीति मित्रता, शान्ति र सहकार्यमा आधारित हुनुपर्ने भन्दै एमसीसी–एसपीपीजस्ता असमान सम्झौताहरू र यो परियोजना खारेज गर्न भारत सरकारसँग आग्रह गरेको छ।
मोर्चाले चेतावनी दिँदै भनेको छ, 'नेपाल-भारत सम्बन्धलाई समानताको आधारमा पुनर्समीक्षा गर्नुपर्ने वर्तमान आवश्यकता हो। अन्यथा जनस्तरबाट पनि प्रतिरोध हुनेछ।'

प्रकाशित: ५ श्रावण २०८२ १९:५६ सोमबार





