राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराए।
उनले भने, ‘राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो।’ उनले चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको बताए।
महामन्त्री आचार्यले सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरे।
प्रकाशित: ३१ आश्विन २०८३ १३:३९ शनिबार





