२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

विश्वकप लिग-२ः क्यानाडाले ओमानलाई हराएपछि दबाबमा नेपाल, बाँकी दुईमध्ये एक खेल जित्नै पर्ने

आईसिसी विश्वकप लिग-२ को आफ्नो अन्तिम शृंखलाको पछिल्ला दुई खेलमा नेपालमा दबाबमा देखिने भएको छ। अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता बचाउन लिगको शीर्ष ६ मा पर्नै पर्ने दबाबमा रहेको नेपालले दुईमध्ये एक खेल जित्नै पर्ने भएको छ। 

जारी सिरिजमा आज क्यानाडाले ओमानलाई पराजित गरेसँगै नेपाललाई उक्त संकट देखिएको हो। जितपछि क्यानाडाको ३५ खेलबाट २७ अंक भएको छ। नेपालको ३४ खेलबाट २८ अंक छ।

क्यानाडाले आफ्नो अन्तिम खेलमा शनिबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा विजयी भए नेपालले शीर्ष ६ मा रहँदै लिग सक्नेछ। हारले भने नेपालले ओमानविरुद्धको अन्तिम खेल जित्नु पर्नेछ। ओमानसँग पराजित भए सातौं स्थानमा रहँदै नेपालले लिग सक्नेछ। यस्तो अवस्थामा क्यानाडा शीर्ष ६ मा छिर्नेछ।

आईसिसीले अहिलेसम्म शीर्ष ६ मा रहने टोलीको एकदिवसीय मान्यता कायम रहने भन्ने विषयमा औपचारिक घोषणा नगरे पनि क्यानका पदाधिकारी भने उक्त कुरा दाबी गरिरहेका छन्।   

आज भएको खेलमा क्यानाडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा मात्र १९८ रनमा अलआउट भयो।  

शृंखलामा अब नेपालले शनिबार क्यानाडा र सोमबार ओमानसँग खेल्नेछ।  

ओमान भने ३३ अंकमा तालिकाको चौथो स्थानमा छ। सिधैं विश्वकपको छनोट चरणमा पुग्न ओमानलाई एक जित आवश्वक छ। लिगको जारी सर्कलमा ओमानले नेपालसँगको सहित पाँच खेल खेल्न बाँकी छ। सबै सिरिज खेलेको नामिबिया ३३ अंकमा तालिकाको पाँचौ स्थानमा छ। ओमानले सबै पाँच खेल हारे नामिबियाले सिधैं विश्वकपको छनोट खेल्ने अवसर पाउनेछ।  

जारी लिगमा अमेरिका ४९ अंकमा च्याम्पियन बनेको छ। स्कटल्यान्ड ४५ अंक र नेदरल्यान्डस् ३८ अंकमा विश्वकप छनोटमा स्थान बनाउन सफल भएका छन्। ३२ खेलमा १९ अंक बनाएको यूएई तालिकाको पुछारमा छ। 

प्रकाशित: २९ आश्विन २०८३ १९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App