राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्याहरू समाधान गर्न आग्रह गरेका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले ठूला दलहरूको अस्थिरताले मुलुककै भविष्यमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिए।
सभापति लामिछानेले लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक दलहरू सवल र स्पष्ट हुनुपर्नेमा जोड दिए। विशेषगरी कांग्रेस र एमालेभित्रका जटिलताहरूले देशको समग्र प्रणालीलाई नै प्रभावित पार्ने उनको तर्क थियो।
उनले भने, ‘मुलुकका सबै दल ठिक हुनुपर्छ। अहिले दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र केही अप्ठेराहरू देखिएका छन्। ती अप्ठेराहरू सम्बन्धित दलका मात्र होइनन्, यदि समयमै सुल्झिएनन् भने तिनले सिंगो देशकै लागि संकट निम्त्याउन सक्छन्।’
प्रकाशित: ७ असार २०८३ १८:२१ आइतबार





