२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

मेरो कारणले एमाले खस्किँदैन, झनै माथि उठ्छ: नेता बादल

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले आफ्नो संलग्नताले पार्टी झन् सुदृढ र सशक्त हुने दाबी गरेका छन्।

मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले थप उचाइ लिने विश्वास व्यक्त गरे।

अध्यक्ष केपी शर्मा ओली र आफ्नो भूमिकाका कारण एमालेको स्थिति खस्किएको भन्ने टिप्पणीको प्रतिवाद गर्दै उनले भने, ‘मेरो कारणले गर्दा एमाले झन् उठ्छ। सखाप हुने होइन, एमाले अझै बलियो बन्छ।’

उनले पार्टीको भविष्यलाई लिएर गरिएका नकारात्मक टिप्पणीहरूमा कुनै सत्यता नरहेको जिकिर गरे।

यसअघि प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि वैचारिक प्रहार समेत गरेका थिए।

उनले रास्वपालाई कुनै सुसंगत र वैज्ञानिक विचारधारा नभएको ‘अराजक जमातहरूको अस्थायी गठजोड’ भनेका थिए।

रास्वपा राजनीतिक रूपमा लोकप्रियतावाद र दार्शनिक रूपमा सारसंग्रहवादको कमजोर जगमा अडेको उनको आरोप थियो।

संसद्मा आफ्नो सम्बोधनको व्यापक विरोध भएको सन्दर्भमा टिप्पणी गर्दै उनले भने, ‘सदनमा आफ्नो धारणा र पार्टीको दृष्टिकोण राख्न पाइन्छ। अरु पार्टीको चरित्र र सिद्धान्तबारे समीक्षा गर्ने अधिकार सबैलाई छ, मैले पनि रास्वपाको सैद्धान्तिक र सांगठनिक पक्षबारे धारणा राखेको हुँ।’

उनले रास्वपा बाहिरबाट हेर्दा आकर्षक र प्रिय देखिए पनि सारमा मुलुकका लागि घातक सिद्ध हुने टिप्पणी गरे। रास्वपा केवल भ्रम र विरोधाभासको दर्शन भएको उनको भनाइ थियो।

यस्तै, नेता बादलले सरकारले ल्याएको नीति तथा कार्यक्रम अपूर्ण रहेको भन्दै त्यसलाई पुनर्लेखन र परिमार्जन गर्नुपर्नेमा जोड दिए।

आन्दोलनले उठाएका मुख्य मुद्दाहरूलाई सरकारले सम्बोधन गर्न नसकेको उनले बताए। सुकुम्वासी बस्तीमा सेना परिचालन गरिएको विषयमा प्रश्न उठाउँदै उनले यस्ता गम्भीर विषयमा सरकारले संसद्मा चित्तबुझ्दो जबाफ दिनुपर्ने माग गरे।

प्रकाशित: २९ वैशाख २०८३ १९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App