७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

महाधिवेशनमा बालेनको मन्तव्य: नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ (पूर्णपाठ )

नमस्कार  नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ  

राष्ट्रिय स्वतन्त्र पार्टीको यस ऐतिहासिक प्रथम महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्वप्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षी दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगण, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी र राष्ट्रिय स्वतन्त्र पार्टीप्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु।

कुरा कताबाट सुरु गरौँ ?  

आज खासमा यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने अवसर हो। एउटा सानो महत्त्वाकाङ्क्षा, सानो इच्छा र सानो देशलाई राम्रो बनाउने हुटहुटीबाट सुरु भएको यो पार्टी आज पहिलो महाधिवेशनसम्म आइपुग्दा आन्दोलनका रूपमा रहेको, भावनाका रूपमा रहेको पार्टीलाई संस्थागत र स्थापित गर्ने चरणमा पुगेको छ। त्यसैले हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ।

आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह, शुभकामना र सुझाव दिनुभएको छ। चिन्ता पनि व्यक्त गर्नुभएको छ। सरकार भनेको गाडी जस्तै हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ र ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता व्यक्त गर्नुभएको छ।

त्यस्तो चिन्ता चाहिँ लोकल रोडमा हिँड्ने गाडीका लागि हुन सक्छ। त्यहाँ कहिले बायाँबाट गाडी आउँछ, कहिले दायाँबाट मान्छे आउँछन्। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस–वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन।

र हाम्रो गाडी अनियन्त्रित पनि छैन। वातावरण पनि मिलेरै गएको छ। त्यसैले हाम्रो पार्टी र सरकारप्रति जुन चिन्ता व्यक्त गर्नुभएको छ, त्यसका लागि धेरै–धेरै धन्यवाद दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो।

जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर पनि चिन्ता व्यक्त गरिएको छ। तर हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएका हौँ। र खोला एक चोटि आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले बायाँ, कहिले दायाँ, कहिले उत्तर, दक्षिण, पूर्व वा पश्चिम बग्दैन।

त्यसैले चिन्ता लिनुहुनेहरूलाई फेरि पनि धेरै–धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता र मार्गदर्शन दिइराख्नुहोला।

मेरो एक जना अनन्य मित्र हुनुहुन्थ्यो। उहाँ अहिले यहाँ हुनुहुन्न। उहाँले सधैँ भन्नुहुन्थ्यो, “बालेन, स्पटलाइटमा आउन सजिलो हुन्छ, तर त्यो स्पटलाइटलाई सधैँ कायम राख्न गाह्रो हुन्छ।”

यस्तै चिन्ता आज यहाँ उपस्थित आदरणीय नेतागणले पनि गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्पटलाइटमा आएको छ, दुई तिहाइ बहुमतसहित सरकारमा आएको छ, यसलाई कायम राख्न गाह्रो हुन्छ भन्ने चिन्ता व्यक्त गरिएको छ।

तर म यहाँ सबैलाई के भन्न चाहन्छु भने, हामी स्पटलाइटमा आएका होइनौँ, हामीले जनतालाई स्पटलाइटमा ल्याएका हौँ। जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ र स्पटलाइटमै रहनेछ। हामीले दिएको प्रकाश नेताका लागि मात्र होइन। हाम्रो सूर्य नेतामाथि मात्र चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यसैले जनता सधैँ अगाडि नै रहन्छ।  

हाम्रो पार्टीको चिन्तन लेफ्ट हो, राइट हो कि सेन्टर हो भनेर धेरै चिन्ता गरिराख्न पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो। विकास गर्ने र काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। प्रतिशोध साँध्ने र पुराना कुरामा अल्झिएर निहुँ खोज्दै बस्ने पार्टी होइन।

तर निहुँ खोज्नुपर्ने अवस्था आयो भने, अगाडि बढ्ने क्रममा यदि विगतमा कुनै फट्याइँ भएको छ, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दुरुपयोग भएको छ भने त्यहाँ हामी निहुँ खोज्छौँ। 

त्यस्तो निहुँ खोज्ने क्रममा अख्तियारसँग पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्र होइन, पाँच वर्ष पनि गर्छौँ। पाँच वर्षसम्म अख्तियारसँग बसेर सरसल्लाह गरिन्छ। त्यसमा कसैले चिन्ता लिनुपर्दैन। हामी नियम–कानुन मिच्दैनौँ। नियमभित्र बसेरै काम गर्छौँ। नियमभन्दा बाहिर जाँदैनौँ। 

हाउभाउ हेर्दा, सामाजिक सञ्जाल र मिडियामा हेर्दा अलि अनियन्त्रित देखिएला। त्यो देखिएको मात्र हो। सबै कुरा नियन्त्रणमै छ। कुनै पनि कुरा ‘आउट अफ कन्ट्रोल’ भएको छैन।   

सीमाको विषयमा पनि चिन्ता व्यक्त गरिएको थियो। हामीले सीमाको विषयमा बोल्दा जुनसुकै देशसँग कुरा गर्दा उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनुभयो। 

मलाई अचम्म लाग्यो। ल, ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग पनि प्रमाण छ। हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ। र त्यो प्रमाण ल्याउनका लागि ब्रिटिस शासनकालका अभिलेख खोज्नुपर्छ भने हामी खोज्छौँ। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ। हामी हाम्रा छिमेकीसँग आफैँ कुरा गरेर समस्या समाधान गर्छौँ। हामीसँग प्रमाण छ र हामी त्यो प्रमाण प्रस्तुत गर्छौँ।   

सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ स् हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ

सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ स् हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ

यसमा कसैले आशङ्का मान्नुपर्दैन। मेरो राष्ट्रियताप्रति कसैले शङ्का गर्नुपर्ने कारण छैन। 

विशेष गरी पार्टीको कुरा गर्दा अहिले महाधिवेशन चलिरहेको छ। आज, भोलि र पर्सि चुनाव हुनेछ। 

पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा संस्कार बिग्रँदै गएको थियो—गुट बनाउने, उपगुट बनाउने। यहाँ महाधिवेशन प्रतिनिधि हुनुहुन्छ, केन्द्रीय सदस्य उठ्ने सोचमा हुनुहुन्छ, पदाधिकारी बन्ने सोचमा हुनुहुन्छ। 

तपाईँहरूलाई एउटा कुरा स्पष्ट रूपमा भन्न चाहन्छु—राम्रो नेता बन्न र राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्छ। कुनै समूहको मायाले हुँदैन। 

त्यसैले समूह बनाउने पछाडि नलाग्नुहोला। अहिले नै त्यस्तो बिउ नरोकौँ, जुन भोलि रुख बनेर पार्टीलाई बिचबाट चिरोस्। यस्तो बिउ रोप्ने र यस्तो रुख हुर्काउने काम हामी नगरौँ। पुराना पार्टीहरूबाट हामीले यो पाठ सिकिसकेका छौँ। 

अर्को कुरा के भन्न चाहन्छु भने, हामी नयाँ पार्टी हौँ। नयाँ सोचका साथ आएका छौँ। हामीले हरेक चुनावमा एउटै एजेन्डा बोकेर जाने होइनौँ। 

हामीले सुशासन ल्याउँछौँ भनेका छौँ, सुशासनका लागि एजेन्डा बोकेका छौँ। सुकुमबासी समस्या समाधान गर्छौँ भनेका छौँ। हामी यही कार्यकालमा सुकुमबासी समस्या समाधान गर्छौँ। यही कार्यकालमा सहकारी समस्या पनि समाधान गर्छौँ। 

अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ। अर्को चुनावमा नयाँ एजेन्डा लिएर जान्छौँ। 

भोलि–पर्सि हुने चुनावमा कसैलाई केन्द्रीय समिति सदस्य बन्न मन लाग्ला, कसैलाई पदाधिकारी बन्न मन लाग्ला। बन्नुभयो भने ठीकै छ, बन्नुभएन भने पनि चिन्ता लिनुपर्दैन। 

किनभने हाम्रो सरकार गठबन्धनको सरकार होइन, एकल पार्टीको सरकार हो। र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भने हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक केन्द्रीय सदस्य प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। 

भोलि तपाईँ केन्द्रीय सदस्य बन्नुभएन र ‘म केन्द्रीय सदस्य भएको भए यो गर्थेँ’ भन्ने लाग्छ भने आउनुस्, पार्टीलाई भन्नुस्। भोलि सांसद बन्न सक्नुभएन र ‘म सांसद भएको भए यो काम गर्थेँ’ भन्ने लाग्छ भने पनि लिएर आउनुस्। तपाईँलाई जे–जे गर्न मन लाग्छ, त्यो काम यो पार्टीले गर्छ, यो सरकारले गर्छ। 

हाम्रा पार्टी पदाधिकारीहरू, सरकारका प्रतिनिधिहरू, केन्द्रीय सदस्यहरू विभिन्न जिल्लाबाट आउनुभएको छ। उहाँहरू र सरकार एउटै हुन् भन्ने अनुभूति कार्यकर्तालाई गराउन अझै बढी प्रयास गर्न आवश्यक छ। त्यसका लागि सम्बन्धित सबैलाई अनुरोध गर्न चाहन्छु। 

अन्त्यमा, पार्टी भनेको एकै ठाउँमा राख्ने कुरा हो। पार्टीलाई एक बनाइराख्नुपर्छ। आज, भोलि र पर्सि हामी पार्टीको बारेमा सोचौँ, त्यसपछि आगामी पाँच वर्ष देशको बारेमा सोचौँ।

धेरै–धेरै धन्यवाद।   

प्रकाशित: ७ असार २०८३ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App