नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लोकतान्त्रिक आन्दोलनको इतिहासलाई सम्मान गर्न र सुशासन तथा सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरेका छन्।
महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै थापाले नेपालमा लोकतन्त्र स्थापना र संरक्षणका लागि विभिन्न राजनीतिक शक्तिले गरेको संघर्षलाई कमजोर रूपमा नहेर्न आग्रह गरे। उनले लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन र संविधान निर्माणका क्रममा भएका त्याग र बलिदानलाई स्मरण गर्नुपर्ने बताए। ‘पञ्चायतविरुद्धको संघर्ष, लोकतन्त्रका लागि भएका आन्दोलन र त्यस क्रममा भएका बलिदानलाई कम आँक्नु हुँदैन,’ उनले भने।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका क्षेत्रमा परिणाम दिन सक्ने राजनीतिक शक्तिलाई जनताले विश्वास गर्ने बताउँदै राजनीतिक दलहरूबीच मतभेद केबल गरिबी, अज्ञानता, विभेद र अक्षमता मात्रै भएको बताए।
‘हाम्रो दुश्मन कुनै राजनीतिक दल होइन। गरिबी हाम्रो दुश्मन हो, अज्ञानता हाम्रो दुश्मन हो, विभेद र अक्षमता हाम्रो दुश्मन हो। यिनै समस्याविरुद्ध सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ,’ उनले भने।
प्रकाशित: ७ असार २०८३ १८:१२ आइतबार



-600x400.jpg)

