२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

विद्यालाई रोक्दै ईश्वरलाई ओलीको प्रश्न : कर्ण थापाको प्रस्ताव किन ल्याएको ?

विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा (एमाले) सचिवालयको बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा प्रतिनिधि हुनबाट रोकेको छ।

दशौँ महाधिवेशनकै प्रतिनिधिहरू विधान महाधिवेशनका प्रतिनिधि हुने भएपछि उनलाई प्रतिनिधि हुनबाट रोकिएको हो। बिहीबार १० घण्टा लामो चलेको सचिवलाय बैठकबाट दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पास भएपछि नयाँ प्रतिनिधि हुनबाट रोकिएका छन्। एमालेको दशौँ महाधिवेशन हुँदा विद्या भण्डारी राष्ट्रपति थिइन्।  

सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव थियो। यसैगरी बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने, केन्द्रीय कमिटीको संख्या १९९ मा झार्ने लगायतका प्रस्ताव पौडेलले अघि सारेका भएपनि थप छलफलपछि पदाधिकारी संख्या १५ पुर्याउने सहमति भएको छ।

त्यस्तै पार्टी केन्द्रीय कमिटी २ सय ५१ सदस्सीय हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञावालीले जानकारी दिए। केन्द्रमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तह हुने हुने छ। केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्यूरो रहने उपमहासचिव ज्ञवालीले जानकारी दिए।

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सबै सदस्यले धारणा राखेका राखेका थिए। अब संशोधन प्रस्ताव पार्टीको पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पेस हुने छ। त्यसपछि भदौमा बस्ने विधान महाधिवेशनले अनुमोदन गरेपछि मात्र यो व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउने छ। विधान महाधिवेशनका प्रतिनिधि दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरू नै हुने विधानमै व्यवस्था भएको ज्ञवालीले स्पष्ट पारे। शुक्रबार (आज) पार्टीको पोलिटब्यूरो बैठक बस्दै छ। शुक्रबार बिहान ११ बजे बस्ने भनिएको पोलिटब्यूरो बैठक दिउँसो १ बजेका लागि सारिएको एमालेले जनाएको छ।

विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्तावमा सहमति नजुटेपछि बैठक लम्बिएको थियो। पदाधिकारीहरूबिच सहमति नजुटेपछि बहुमतको आधारमा निर्णय भएको एक पदाधिकारीले बताए। ती पदाधिकारीले भने, ‘बहुमतको आधारमा यो निर्णय पारित भएको हो।’ ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा यो प्रस्ताव भएको हो।

अहिले एमालेका विभिन्न कार्यक्रममा भण्डारी सक्रिय रूपमा सहभागी हुन थालेकी छन्। बुधबार मात्र उनी बूढानीलकण्ठ नगरपालिकामा एमालेद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि भएपछि पार्टीले बाध्य भएर बिहीबार एजेण्डा बनाएर नै छलफल थालेको थियो। यो छलफल शुक्रबार बस्ने पोलिटब्यूरो बैठक र ५ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकमा समेत हुने बताइएको छ।

स्रोतका अनुसार बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच भनाभन भएको थियो। ‘एमाले अध्यक्ष ओलीले पोखरेललाई कर्ण थापाको प्रस्ताव सचिवालय बैठकमा छलफल हुँदैन भनेपछि भनाभन भयो,' एक पदाधिकारीले भने, ‘यो भनाभन लामो समय चल्यो एक प्रकारले सन्नाटा नै छायो।’ स्रोतका अनुसार विधानमाथि धारणा राख्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान तीन पटक छापिएको भन्दै आपत्ति जनाएका थिए। वरिष्ठ उपाध्यक्ष पोखरेलले तीन पटक विधान छापिएको प्रशंग उठाएपछि ओलीले हस्तक्षेप गर्न खोज्दा पोखरेल निकै आक्रोसित भएका थिए। पोखरेलले म आफ्ना कुरा राखिरहेको छु तपाईँमा समस्या छ पार्टी नेतृत्व यसरी चल्दैन भनेर ओलीलाई जवाफ फर्काएको बैठकमा सहभागी एक पदाधिकारीले भने।  

भण्डारीले १४ असारमा सक्रिय राजनीतिमा पुनरागमन गरेको घोषणा गरेसँगै उनलाई एमालेको आउँदो ११औँ महाधिवेशनमा अध्यक्षको दाबेदारको रूपमा हेरिएको छ। विद्याको पक्षमा खुलेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जसरी पनि पार्टी अध्यक्ष बनाउने गरी अघि बढाएका छन्। उपाध्यक्ष सुरेन्द्र पाण्डेको यो विषयमा समर्थन रहे पनि बाहिर खुल्न सकेका छैनन्।

स्थायी कमिटी सदस्य कर्ण थापा, विनोद ढकाल लगायतका नेताहरूले विद्यालाई बोकेर हिँडिरहेका छन्।

प्रकाशित: २ श्रावण २०८२ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App