विशेष अदालतले माग गरेको धरौटी रकम बुझाउन अस्वीकार गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी थुनामै रहने भएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा मंगलबार थुनछेक बहसपछि विशेष अदालतले अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर, उनले अदालतले तोकेको धरौटी रकम नबुझाउने अडान लिएपछि थुनामा पठाइएको हो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले धरौटी नबुझाउने बताएपछि उनलाई कारागार पठाइएको जानकारी दिए।
‘अदालतले ५ लाख धरौटी माग गरेको थियो, तर उहाँले आज धरौटी राख्नुभएन। उहाँ अघिल्लो मुद्दामा थुनामै हुनुहन्थो, त्यहि कारणले म धरौटी बुझाउँदिन भन्नुभयो,’ सूचना अधिकारी रेग्मीले नागरिक न्युजसँग भने, ‘धरौटी नबुझाएका कारण यो मुद्दा पनि उहाँ थुनामै रहनुहुन्छ।’
उनी भक्तपुरको नलिञ्चोकको हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए। सोही कारण यो आदेशले रिहा हुने नदेखेपछि उनले धरौटी रकम बुझाउन अस्वीकार गरेका हुन्।
यसैगरि, पोखरा विमानस्थल प्रकरणमा अदालतले प्राधिकरणका निर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ धरौटी माग गरेको थियो। भण्डारीले भने माग गरिएको धरौटी रकम बुझाएर तारेखमा रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरूलाई धरौटीमा छोड्ने आदेश दिएको थियो।
प्रकाशित: २३ मंसिर २०८२ १९:४१ मंगलबार





