२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

एकै दिन प्रचण्ड–प्रभाकरको भनाभन

लामो समयदेखि नेकपा माओवादी केन्द्रभित्र भित्रभित्रै उकुसमुकुसको अवस्थामा रहेको अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)बिचको द्वन्द्व अब सार्वजनिक स्तरमा देखिन थालेको छ। दुवै नेता एकअर्काविरुद्ध ‘मुख छाडाछाड’को अवस्थामा उत्रिएका छन्। 

केही दिनअघि एउटा सार्वजनिक मञ्चमा अध्यक्ष प्रचण्डले आफूलाई ‘देशको खाँबो आफूले नै धानेको जस्तो महसुस’ हुने गरेको बताउँदै आफूले छाडे ‘गर्ल्यामगुर्लुम सबै ढल्छ’ कि भन्ने लागिरहेको भन्न भ्याएका थिए। त्यसको प्रतिवाद जनार्दनले अर्को मञ्चबाटै दिएका थिए। ‘शेष नागले काँध फेर्दैमा पृथ्वी हल्लिन्न’ भनेर जनार्दनले प्रचण्डको भनाइलाई खण्डन गरेका थिए। 

यसैबिच दुवै जनाबिचको यस्तो भनाभनको स्थिति बिहीबार पनि देखिएको छ। बिहीबार बिहान विराटनगर पुगेका अध्यक्ष प्रचण्डले जनार्दनको नामै लिएर उनले नपत्याउँदैमा माओवादी आन्दोलन नसकिने भनिदिएका छन्। 

‘एक जना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ प्रचण्डले भनेका छन्।  उनको ‘शेष नाग’वाला अभिव्यक्तिबारे पार्टीको पदाधिकारी बैठकमै समीक्षा हुने पनि प्रचण्डले बताए।  

यस्तै प्रचण्डले जनार्दनलाई ‘स्वार्थ समूहको लाइन बोक्ने नेता’ रहेको भन्दै अप्रत्यक्ष टिप्पणी पनि गरिदिए। ‘स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसिप भन्दा बाहिर सार्वजनिक रूपमा वा आन्तरिक रूपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरू गर्नुलाई स्वार्थ समूह भनिएको हो’, उनले भनेका छन्। 

यसैबिच बिहीबार दिउँसो बुटवलमा आयोजित एक कार्यक्रममा जनार्दन कम्युनिस्ट आन्दोलन प्रचण्ड प्रवृत्तिकै कारण कमजोर भएको भन्ने संकेत गरिदिए।  त्यहाँ उनले प्रचण्डको नामै नलिए पनि सत्ता स्वार्थका कारण विगतमा नेकपाको एकता भाँडिएको र त्यसले जनतामा निराशा पैदा भएको टिप्पणी गरे। 

‘संविधान घोषणापछि नेकपा भयौँ। त्यो बेला यस्तो ऊर्जा थियो, यस्तो जोस थियो, सिद्धान्त मिलेको थिएन, एउटा कुरा थियो होला पार्टी मिलेकै थियो, मिलाउन सकिने ठाउँ पनि थियो,’ जनार्दनले भने, ‘तर त्यो कुरा सत्ता केन्द्रीत, सत्ता स्वार्थका निहित कारणले त्यो सबै उत्साहमाथि चिसो पानी खन्याइयो।’ 

त्यसबाट कम्युनिस्ट पार्टीले उचाइ प्राप्त गरिरहेको बेलामा विघटनको प्रक्रिया सुरु भएको उनले बताए। ‘त्यसबाट छाएको निराशा आज तल तल गइरहेको छ,’ उनले भने।  त्यसै कारण अहिले अनेकन् शक्ति पैदा भइरहेकाे पनि उनले दाबी गरे। 

‘फेरि ०७९को चुनावमा आएर गठबन्धन ग¥यौँ, आदि–इत्यादि। त्यही पनि अवसर प्राप्त भएको थियो,’ उनले भने, ‘सकारको नेतृत्व प्राप्त भएको थियो । त्यो नेतृत्व गर्नुपर्ने अवस्थामा आफ्नै बुद्धिले के गर्छस् मङ्गले आफ्नै ढङ्गले।’ 

आफ्नै बुद्धिले गठबन्धन बदल्ने अभियानमा लाग्दा अहिलेको अवस्थामा पुगेको पनि उनले बताए। ‘आफ्नै बुद्धिले गठबन्धन बदल्ने अभियानमा लागेको कारणले आज एउटा यस्तो ठाउँमा पुग्यो जसले गर्दा जनताका अजेन्डाहरु सम्बोधन हुने कुनै सम्भावना नै छैन,’ जनार्दनले भने। 

देशमा संख्याका आधारमा नभई अस्थिर मनस्थितिका कारण राजनीतिक रहेको पनि उनले भनिदिए।  

प्रकाशित: १२ भाद्र २०८२ १७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App