अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट पेट्रोलियम पदार्थ किन्ने देशहरूमाथि ५०० प्रतिशतसम्म भन्सार कर(ट्यारिफ) लगाउन सक्ने विधेयकको समर्थन गरेका छन्। जसले भारत र चीनजस्ता देशहरूमाथि अमेरिकाले थप ट्यारिफ लगाउन सक्ने देखिएको छ।
भारत र चीन रुसबाट ठुलो मात्रामा सस्तो तेल खरिद गर्ने देशहरू पर्छन्। अमेरिकाले ५०० प्रतिशत ट्यारिफ लगाउँदा दुवै देश निकै दबाबमा पर्ने देखिएको छ। अमेरिकी सिनेटर लिन्डसे ग्राहमले ह्वाइट हाउसले ल्याउन लागेको यस कानुनले भारत, चीन र ब्राजिल जस्ता देशलाई रुसबाट तेल किन्न निरुत्साहित गर्ने बताएका छन्।
‘आज राष्ट्रपति ट्रम्पसँग विभिन्न विषयमा भएको अत्यन्त अर्थपूर्ण भेटपछि उहाँले रुसमाथिको प्रतिबन्धसम्बन्धी विधेयकलाई हरियो झन्डा दिनुभएको छ,’ ग्राहमले एक्समा लेखेका छन्, ‘यसमा म सिनेटर ब्लुमेन्थल तथा अन्य धेरैसँग महिनौँदेखि काम गर्दै आएको थिएँ।’
यो विधेयकले युक्रेनमा शान्ति स्थापना गर्न मद्दत गर्ने उनको दाबी छ। ‘पुटिन केवल कुरा मात्र गरिरहेका छन् र निर्दोष मानिसहरूको हत्या जारी राखेका छन्। यो विधेयकले सस्तो रुसी तेल खरिद गर्ने र पुटिनको युद्ध मेसिनलाई बल पुर्याउने देशहरूलाई दण्डित गर्न राष्ट्रपति ट्रम्पलाई अधिकार दिनेछ,’ उनले अगाडि भनेका छन्।
अमेरिकाले रुसी तेल किन्ने देशहरूले युक्रेनमा रक्तपात मच्चाउन पुटिनलाई आर्थिक स्रोत उपलब्ध गराइरहेको आरोप लगाउने गरेको छ। यही कारण उसले भारत र चीन लगायतका देशमाथि ट्यारिफको बोझ थप्ने रणनीति लिएको छ।
यसअघि ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाइसकेका छन्।
यसै हप्ता अमेरिकाका लागि भारतीय राजदूत विनय क्वात्राले भारतले रुसी तेल खरिद घटाएको जानकारी दिएका थिए। क्वात्राले रुसी तेलको खरिद कम भएको दाबी गर्दै भारतमाथि लगाइएका ट्यारिफमा राहत दिन आग्रह गरेका समाचार बाहिरिएका थिए।
बिबिसीबाट
प्रकाशित: २४ पुस २०८२ १७:२३ बिहीबार





