नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारविरुद्ध जनकपुरमा महामन्त्री गगन थापाको पुतला दहन गरिएको छ। मंगलबार साँझ निधिका समर्थक कार्यकर्ताले उनको गृह जिल्ला धनुषाको भानु चौकमा महामन्त्री थापाको पुतला जलाएका हुन्।
जहाँ निधिका समर्थकले महामन्त्री थापा विरुद्ध केही बेर नाराबाजीसहित प्रदर्शन पनि गरेका थिए।
यता मङ्गलवारै दिउँसो विशेष महाधिवेशनको मागकर्ताहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाहिर निधिमाथि दुर्व्यवहार गरेका थिए। निधिले कार्यसम्पादन समितिको बैठकका लागि पार्टी कार्यालय गइरहँदा आफूमाथि दुर्व्यवहार भएको बताएका छन्। सार्वजनिक भिडिओमा निधिमाथि भिडले आक्रोश पोखिरहँदा केही बेर भनाभन भएको दृश्य देखिन्छ। भिडले विमलेन्द्र निधि मुर्दावादसम्म भनेर नाराबाजी गरेको सुनिन्छ।
प्रकाशित: २२ पुस २०८२ २०:१३ मंगलबार





