राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर क्षेत्र नं २ का उम्मेदवार पत्रकार राजीव खत्रीले भक्तपुर क्षेत्र नं २ मा आफ्नो प्रतिस्पर्धा नेकपा एमाले सचिव एवं उक्त क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका महेश बस्नेतसँग नहुने दाबी गरेका छन्।
आइतबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस कुराको प्रमाण निर्वाचन परिणामपछि स्पष्ट हुने बताए। पार्टीले पार्टीबाट उम्मेदवार बनेका भक्तपुर क्षेत्र नं १ र २ का दुवै उम्मेदवारहरूसँग पत्रकार साक्षात्कार गरेको थियो।
पत्रकार सम्मेलनमा खत्रीले महेश बस्नेत यतिखेर हार निश्चित भएको भन्दै अतालिँदै हिँडेको बताए। नयाँ जनमत पुराना कांग्रेस र एमालेको नभई नयाँ दलहरूमा रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले देशैभरि गरिरहेको दाबी उनले गरे।
पार्टीबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदवार रुकेश रञ्जितले पार्टीले भक्तपुरको दुवै क्षेत्रमा जित निकाल्ने दाबी गरे। चाँगुनारायण नगरपालिका क्षेत्रमा यतिखेर चुनाव मेयरको चुनाव हुने हो भने स्वत: रास्वपाले मेयर पदमा जित निकाल्ने उनको दाबी थियो। चाँगुको भोट बढीभन्दा बढी तानेर भक्तपुर नगरको केही भोट आए आफूले सम्मानजनक मत पाउने उनको दाबी हो। भक्तपुर क्षेत्र नं १ मा चाँगुनारायण र भक्तपुर दुई वटा नगरपालिका पर्दछन्।
भक्तपुर क्षेत्र नं १ मा यो पटक नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, रास्वपाबाट खत्री, नेपाली कांग्रेसबाट किरण न्यौपाने, नेकपा एमालेबाट सोम मिश्र उम्मेदवार छन्।
भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट पत्रकार कविर राणा, एमालेबाट महेश बस्नेत, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायतको उम्मेदवारी छ।
पछिल्लो निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका प्रेम सुवाल विजयी भएका थिए। क्षेत्र नं २ मा भने कांग्रेसका दुलर्भ थापा विजयी भएका थिए। यसअघिको निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा रास्वपाको उम्मेदवार थिएन। क्षेत्र नं २ मा भने कांग्रेस, एमाले र नेमकिपापछि रास्वपाले चौथो बढी मत पाएको थियो।
प्रकाशित: ११ माघ २०८२ १५:१४ आइतबार





