मधेश प्रदेशसभाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि छलफलका लागि बोलाइएको बैठक स्थगित भएको छ। सभामुख रामअशिष यादवले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध जनाएपछि १० मिनेटका लागि बैठक स्थगित भएको हो।
प्रदेशसभामा बजेट प्रस्तुत भएको १७ दिनपछि बजेटमाथि छलफलका लागि बुधबार दिउँसो १ बजे बैठक बोलाइएको थियो। तर सभामुख यादवले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै जसपा नेपाल र नेपाली कांग्रेसका सांसदहरू आफ्नो कुरा राख्न उभिएका थिए।
सुरुमा कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत महोत्तरी र धनुषामा उपभोक्ता समिति तथा ठेकेदारले काम सम्पन्न गरिसके पनि उनीहरूको भुक्तानी अर्थ मन्त्रालयले रोकेको भन्दै आपत्ति जनाए।
“विकास निर्माणका काम सम्पन्न भइसकेका छन्। काम गरेको बिल भरपाई १० दिनदेखि जनस्वास्थ्य कार्यालयमा छ। तर भुक्तानी दिइएको छैन,” उनले भने, “उनीहरू कार्यालय घेराउ गर्ने अवस्थामा पुगिसकेका छन्। भुक्तानी किन रोक्का गरिएको हो, अर्थमन्त्रीले जवाफ दिनुपर्छ।”
जसपा नेपालका सांसद उपेन्द्र महतोले सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दा एक करोडभन्दा मुनिका योजना नल्याउने बताएको भए पनि बजेटमा ५/१० लाखका टुक्रे योजना ल्याइएको भन्दै विरोध जनाए।
“सुरुमा सरकारले ठूला–ठूला कुरा गर्यो, हामी टुक्रे योजना ल्याउँदैनौँ भनियो। तर अहिले ल्याएको बजेटमा ५/१० लाखका योजना समेटिएका छन्। सरकारलाई पहिल्यै भन्नुपर्थ्यो,” उनले भने, “यो नियमकानुन विपक्षी दलका सांसदहरूमा मात्र लागू हुन्छ, सरकारमा सहभागी दलका लागि होइन। तर एक करोड भनेर जनतालाई झुक्याउने काम गरिएको छ। फरक प्रकृतिका, फरक जिल्लाका योजनासमेत एउटै शीर्षकमा हालिएका छन्। यो संशोधन नभएसम्म बैठक चल्न दिँदैनौँ।”
प्रकाशित: १७ असार २०८३ १८:५९ बुधबार





