‘हेलो, प्रहरी कार्यालय होइन ? लौ मैले त बदमासी गरेँ, पक्रन आउनुपर्यो।’
जिल्ला प्रहरी कार्यालय खोटाङमा बिहीबार मध्याह्न १२:१५ बजे आएको यो अपरिचित फोनले केही क्षण सञ्चार शाखामा सन्नाटा छायो। सञ्चारका प्रहरीले तत्कालै यसबारे प्रहरी प्रमुखलाई जानकारी गराए।
प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीले तत्काल सोही नम्बरमा ‘कल ब्याक’ गरेर सोधे, ‘को, कहाँबाट बोल्नुभयो ? भएको के हो खास ?’
उताबाट जवाफ आयो, ‘मेरो नाम तीलबहादुर मग्राती, घर दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा। यहाँ मैले मान्छे मारेर घटना घटाएँ, त्यसैले पक्रन आउनू।’
मग्रातीले गाउँमा विवाद भएको र आफूले आवेशमा आएर खुकुरी प्रहार गर्दा मान्छे ठाउँको ठाउँ ढलेको सुनाए। उनी जीवितै छन् कि मरिसके भन्ने आशंका व्यक्त गर्दै उनले आफूलाई पक्राउ गर्न प्रहरीलाई अनुरोध गरे।
डीएसपी बुढाथोकीले मग्रातीलाई त्यहीँ बसिरहन भन्दै इलाका प्रहरी कार्यालय याम्खालाई वायरलेस सेटमार्फत तुरुन्तै निर्देशन दिए। याम्खा प्रहरीको टोली मोटरसाइकलमा आधा घण्टाको दूरीमा रहेको घटनास्थल पुग्यो। नभन्दै घटनास्थल पुग्दा गाउँलेहरू जम्मा भइसकेका थिए र मग्रातीको खुकुरी प्रहारबाट याम्खाकै ३५ वर्षीय ध्रुव अधिकारी रक्तमुछेल अवस्थामा मृत फेला परे।
स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डीएसपी बुढाथोकीले बताए अनुसार विवाद चर्कँदै गएपछि मग्रातीले धारिलो हतियार खुकुरी प्रहार गर्दा अधिकारीको टाउको र ढाडमा गहिरो चोट लागेर घटनास्थलमै ज्यान गएको हो।
वडाध्यक्ष केशव खत्रीका अनुसार भनाभन भइरहेकै बेला मग्रातीले अधिकारीमाथि खुकुरी प्रहार गरेका थिए। आवेशमा आएर खुकुरी प्रहरा गरिसकेपछि आत्तिएका मग्रातीले आफैँ १०० नम्बरमा फोन गरेर घटनाको बेलिविस्तार लगाउँदै प्रहरी बोलाएका हुन्।
प्रहरीले घटना के कारणले भयो भन्ने यकिन भइनसकेको जनाएको छ। स्थानीयले अधिकारी र मग्रातीबीच आर्थिक कारोबारको विषयमा विवाद भएर घटना भएको अनुमान गरेका छन्। वडाध्यक्ष खत्रीका अनुसार अधिकारी मग्रातीकै घर पुगेर कुरा हुँदाहुँदै विवाद भएर घटना घटेको गाउँलेले बताएका छन्।
उता मग्रातीले भने बिरामी भएर सुतिरहेकी आफ्नी छोरीले आफूलाई अधिकारीले अभद्र व्यवहार गरेको फोनमा सुनाएपछि सरासर घर गएर अधिकारीमाथि खुकुरी प्रहार गरेको सुरुवाती बयान प्रहरीलाई दिएका छन्।
डीएसपी बुढाथोकीले भने, ‘याम्खामा निकै दुःखद घटना भयो। हाम्रो टोलीले मग्रातीलाई नियन्त्रणमा लिइसकेको छ। घटनास्थलको सर्जमिन मुचुल्का गरी पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याउने तयारी हुँदैछ। यहाँ ल्याएर बयान लिएपछि वास्तविक कुरा खुल्नेछ।’
प्रकाशित: २५ असार २०८३ १८:१३ बिहीबार




