२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

अनलाइन ठगी र ‘क्रिप्टो’ मा संलग्न बङ्गलादेशी गिरोह विमानस्थलबाट पक्राउ

सामाजिक सञ्जालमार्फत कतारमा आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अवैध ‘क्रिप्टो’ कारोबारमा संलग्न चार बङ्गलादेशी नागरिकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बङ्गलादेशतर्फ भाग्न लागेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा महोत्तरीको रामगोपालपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २१ वर्षीय सुभाष कुमार मण्डल तथा बङ्गलादेशी नागरिकहरू २५ वर्षीय एमडी जुबाएर अहमद, २६ वर्षीय एमडी नुर अलोम, २४ वर्षीय एमडी नसिम मिया र २७ वर्षीय एमडी रानी कमाल रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले फेसबुकमा कतारस्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने भन्दै भ्रामक विज्ञापन पोस्ट गर्ने गरेको थियो।

सोही विज्ञापनका आधारमा सम्पर्कमा आएका पीडितहरूलाई शङ्कास्पद मोबाइल एप डाउनलोड गर्न लगाई बैंक खाताको रकम अनधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गर्ने गरेको पाइएको छ।

यसका साथै, अभियुक्तहरूले ठगीबाट आर्जित रकमलाई गैरकानुनी रूपमा ‘बाइनान्स’ मार्फत ‘क्रिप्टो’ तथा ‘यूएसडीटी’ को कारोबारमा प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका पाँचै जना विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर ब्युरोले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित: २९ असार २०८३ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App