सुनसरीको देवानगन्ज– ३ को कप्तानगन्जमा तीनजनाको मृत्यु भइसकेको घटनामा सरकारले सहमति गरेका माग पूरा नगरेसम्म निरन्तर आन्दोलन जारी राख्ने पीडितले घोषणा गरेका छन्। साउन १९ को देवानगन्ज– ३ का २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि सरकारले गरेको सहमति कार्यान्वयनसँगै दोषीलाई कारबाही माग राखेर निरन्तर आन्दोलन जारी राखेका हुन्।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका रवीन्द्रको शवसमेत आफन्तले बुझेका छैनन्। कप्तानगन्ज घटनामा साउन १० गते दुईपक्षीय झडप भएर हिंसात्मक रूप लिँदा सोही दिन २५ वर्षीय ओमप्रकाश मेहता, साउन १४ गते विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा २१ वर्षीय जयप्रकाश मेहता र साउन साउन १९ गते रवीन्द्रको मृत्यु भएको थियो।
गृहमन्त्री सुदन गुरुङले साउन १४ गते राति मृतक ओमप्रकाश र जयप्रकाशका अभिभावकसँग दुवैजनालाई सहिद घोषणा प्रक्रिया अघि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सहमति भएको थियो। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तथा परिवारका एक–एकजना सदस्यलाई रोजगारीको अवसर दिने पनि सहमति भएको थियो। सहमति भएको भोलिपल्ट परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरिएको थियो। यही बिचमा साउन १९ गते अर्का घाइते रवीन्द्र मेहताको पनि मृत्यु भएको थियो। रवीन्द्रको मृत्युपछि कप्तानगन्जका स्थानीयबासीले निरन्तर आन्दोलन जारी राखेका हुन्।
मृतक ओमप्रकाशका बाबु कृष्णका अनुसार सरकारले सहमति गरे पनि पूरा नगरेकाले फेरि आन्दोलन गर्नुपरेको बताए। उनले माग पूरा नगरेसम्म आन्दोलन नरोकिने बताए। सरकारले बुधबार मात्रै सुनसरी र सिरहामा प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने निर्णय गरे पनि सहिद घोषणा र दोषीलाई कारबाहीबारे मौन रहेको छ।
मृतक र घाइतेका आफन्तले दोषीलाई अविलम्ब कारबाही हुनुपर्ने मुख्य माग राखेका छन्। रवीन्द्रका आफन्तसँग साउन १९ गते राति गृहमन्त्री गुरुङले वार्ता गरे पनि टुंगोमा पुग्न सकेन।
प्रकाशित: २२ श्रावण २०८३ १०:१० शुक्रबार





