१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सञ्चारमाध्यमका कार्यालयअगाडि राखिएका गाडीमा सुरक्षा खतरा भेटिएन

अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसनको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा जोखिम वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, अनामनगरस्थित भाटभटेनी क्षेत्र र कान्तिपुर पब्लिकेसनअगाडि पार्क गरिएका गाडीको सूक्ष्म निरीक्षण तथा सुरक्षा जाँच गर्दा कुनै शंकास्पद वस्तु फेला परेन।

उनले प्रहरीले दुई कोणबाट अनुसन्धान गरेको जानकारी दिए। पहिलो, गाडीभित्र कुनै विस्फोटक वा अन्य शंकास्पद वस्तु छ कि छैन भन्ने सुरक्षा परीक्षण गरिएको थियो। दोस्रो, ती गाडी आपराधिक गतिविधिसँग जोडिएका हुन् वा होइनन् भन्ने विषयमा पनि प्रारम्भिक जाँच गरिएको थियो। दुवै परीक्षणमा कुनै सुरक्षा खतरा नदेखिएको उनले बताए।

उनले भने, ‘हामीले गाडीमा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री छ कि छैन भनेर जाँच गरेका थियौँ। तर त्यस्तो कुनै सुरक्षा खतरा देखिएन।’

प्रहरीका अनुसार ती गाडी सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरी अनधिकृत स्थानमा पार्किङ गरिएकाले हटाएर आवश्यक कारबाहीका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानातर्फ पठाइएको छ।

 

प्रकाशित: २९ असार २०८३ १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App