२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० करोड, भवन निर्माणको बाटो खुल्यो

सप्तरीको राजविराज नगरपालिका–१०, विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्यले गति लिने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रतिष्ठानका लागि ५० करोड रुपैयाँ विनियोजन भएपछि निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाइएको हो।

सप्तरी क्षेत्रका सांसद तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल तथा प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि प्रतिष्ठानका लागि आवश्यक बजेट सुनिश्चित गरिएको जनाइएको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते अनलाइनमार्फत प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो। तर, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत नहुँदा निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन।

हाल ईआईए प्रतिवेदन स्वीकृत भएसँगै सरकारले बजेट विनियोजन गरी निर्माण कार्यका लागि टेन्डर प्रक्रिया सुरु गरेको हो।

प्रतिष्ठानको पूर्वाधार निर्माण सम्पन्न भएपछि राजविराजमा स्वास्थ्य शिक्षा तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। यसले मधेश प्रदेशका साथै आसपासका जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको अवसर उपलब्ध गराउने विश्वास लिइएको छ।

उल्लेखनीय छ, मन्त्रिपरिषद्ले २०७५ पुस १६ गते रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। प्रतिष्ठान निर्माणका लागि राजविराज नगरपालिकाले ३० वर्षका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको छ।

प्रकाशित: २५ असार २०८३ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App