जनमत पार्टीका अध्यक्ष सीके राउतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मध्यरातमा भएको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।
राउतले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानन्यायाधीशलाई पक्राउ पुर्जीबिना मध्यरातमा पक्राउ गरिएको बताउँदै आपत्ति जनाएका हुन्। पछिल्लो समय राजनीतिक विश्लेषक, पत्रकार, अभियन्ता तथा आलोचकहरू पक्राउ पर्ने क्रम बढेको बताउँदै उनले भने, 'मध्यराति पक्राउ पुर्जीबिना, पूर्व प्रधानन्यायाधीश पक्राउ! लगातार राजनैतिक विश्लेषक, पत्रकार, अभियन्ता, आलोचकहरू पक्राउ! लोकतन्त्रको त श्राद्ध नै भइसक्यो, वार्षिकी मनाउनेसम्म जाला कि!'
उनले यस्तो अवस्थाले लोकतन्त्रको अवस्था कमजोर बनेको टिप्पणी गरेका छन्। राउतले सरकार गठन भएको पहिलो वा दोस्रो सातामै आफूले एक पत्रकारलाई ‘हरेक हप्ता एक जना पक्राउ गर्ने’ शैलीमा सरकार सञ्चालन गर्न सकिने बताएको स्मरणसमेत गरे।
उनले बाढीबाट भएको जनधनको क्षति, ग्यास अभावका कारण आत्महत्याका घटना तथा शिक्षा, स्वास्थ्य र रोजगारीका समस्याप्रति सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन्।
राउतले पुर्जीबिनाका पक्राउ जस्ता ‘लोकप्रिय’ काममा मात्र केन्द्रित भएको भन्दै उनले सरकारलाई आलोचना गरेका छन्।
'सरकार सुरु भएको पहिलो वा दोस्रो सातामै एउटा पत्रकारलाई भनेको थिएँ- यो सरकार चलाउन बहुत सजिलो छ, हरेक हप्ता एक जना पक्राउ गर्ने, वर्षमा ५४ जना, ५ वर्षमा करीब २५० जना - जनता त्यसमै ताली परर बजाइ राख्नेछन्, बाकी केही गर्नै पर्दैन। हुन पनि हो बाढीमा डुबेर ७००० मरे कि १०,००० सरकारलाई महिना दिनपछि पनि मतलब छैन, ग्याँस नपाएर मान्छे आत्महत्या गरिरहेका छन् समाधान छैन, शिक्षा स्वास्थ्य रोजगारीको अतोपत्तो छैन, बस यस्तै 'लोकप्रिय' काम गरे भयो,' उनले भनेका छन्।
प्रकाशित: ११ आश्विन २०८३ १३:१८ आइतबार





